राजनीति

तिहारलगत्तै पूर्वराजा बोक्ने होडबाजीमा राप्रपा र दुर्गा प्रसाई

काठमाडौं । तिहार र छठ पर्व सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह ‘अन्तिम मुभ’ का लागि सक्रिय हुने भएका छन् । त्यसका लागि उनले राप्रपा अनि गणतन्त्र र दलका नेतासँग असन्तुष्ट समूहलाई एक साथ परिचालन गरेका छन् । दुवैले झन्डै झन्डै एकै समयमा कार्यक्रम आयोजना गरेका छन् ।

पछिल्लो समय राप्रपा र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईमध्ये को बढी राजावादी भन्ने होडबाजी चलेको छ । दुवैलाई पूर्वराजा शाहले विश्वास गरेको अवस्था छ । राप्रपा संसदको पाँचौं ठूलो दल हो । उसले सदनमै संवैधानिक राजतन्त्रलाई अंगालौं भनेर खुला रूपमा दलहरूलाई चुनौती दिइरहेको छ । प्रसाई भने एमालेलगायतका दल र तिनका नेताविरुद्ध आन्दोलित बनेका छन् ।

उनले अहिलेको व्यवस्था र नेतासँग आक्रोशित भएको युवा समूह र बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर तिर्न नसकेकालाई आफ्नो ग्रिपमा राखेर खुलेआम सडकबाटै सरकार र दलहरूविरुद्ध च्यालेन्ज दिइरहेका छन् । प्रसाईको यो साहसलाई पूर्वराजा शाहले मन पराएको देखिएको छ ।

त्यसैले मंसिर ७ गते दुर्गा प्रसाईले काठमाडौंमा राजावादी र गणतन्त्र विरोधीहरूको जनप्रदर्शन गर्ने घोषणा गरेका छन् । त्यसका लागि प्रसाईले झापालगायत विभिन्न जिल्लाबाट बसमा मानिसहरूलाई काठमाडौं ओसार्ने तयारी गरिरहेका छन् । तर आफूभन्दा प्रसाई चर्को राजावादी बनेको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उनको कार्यक्रम फितलो बनाउन आफ्नो गृहजिल्ला झापामा पूर्वराजा शाहलाई लैजाने भएका छन् ।

त्यसका लागि शाह र लिङ्देनबीच शनिबार निर्मल निवासमा कुराकानी भएको बुझिएको छ । लिङ्देनले मंसिर ९ गते झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा शाहलाई लैजाने र त्यहीबेला हजारौं मानिस सडकमा उतार्ने तयारी गरेका छन् । यसो गर्दा अहिलेको सरकार र ठूला दललाई ठूलो जनदबाब पुग्ने विश्वास पूर्वराजा शाह र लिङ्देनले गरेका छन् ।

राप्रपाका नेताहरूका अनुसार यो विषयबारे लिङ्देनले पार्टी पदाधिकारी बैठकमा पनि ब्रिफिङ गरिसकेका छन् । पार्टीका पदाधिकारीलाई भेटेर लिङ्देन शनिबार नै झापा प्रस्थान गरिसकेका छन् । उनी अहिले त्यहाँ मंसिर ९ को कार्यक्रम भव्य बनाउने अभियानमा जुटेको बताइन्छ । पछिल्लो समय राजावादीहरू हौसिएको भन्दै सत्तारुढ माओवादीले त्यसविरुद्ध जनप्रदर्शन गर्ने तयारी थालेको थियो । तर आफैं सरकारमा बसेर जनप्रदर्शन गर्न लागेको भन्दै माओवादीसँग सत्ता गठबन्धन नै असन्तुष्ट बनेपछि मंसिर २२ को कार्यक्रम रोकिएको छ । तर मंसिर ७ र ९ गतेको घटनाले नेपालको राजनीतिमा ‘पर्दा पछाडि केही पाक्दैछ है’ भन्ने संकेत गर्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *