
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने सरकारले निर्णय गरेको उनले जानकारी दिइन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वोन्द्व फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयलाई स्वीकारेर टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका अनुसार नेपालमा टिकटक बन्द गर्ने मन्त्रीपरिषदको निर्णयलाई सकरात्मक मान्दै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको हो। उनका अनुसार २४ घण्टाभित्रै टिकटक नेपालबाट बन्द हुने संभावना बढेको छ । तर सरकारको निर्णयप्रति राजनीति दलका नेता तथा कार्यकर्ताहरुले नै नेपालमा टिकटक बन्द गर्न नहुने बताउदैँ आएका छन् ।
विभिन्न राजनीति दलका नेता कार्यकतादेखी सर्वसाधारणले टिकटकमा देखिएका समस्या हल गर्ने प्रक्रियातिर सरकार केन्द्रित हुन आवश्यक भएको तर पूर्णरुपमा टिकटक बन्द गर्नु सरकारले जनताको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्धप्रति सरोकारवाला संस्था तथा व्यक्तिहरुले गम्भीर आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् । उनले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन ।
उनले सरकारको यो निर्णय अलोकतान्त्रिक भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
कांग्रेस नेता डा.शेखर कोइरालाले पनि सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै खेद व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको एक पोष्टमा लेखिएको छ – विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरुका बारेमा सरकारलाई स्मरणः गराउन चाहन्छु ।’
यस्तै सरकारको टिकटक बन्द गर्ने निर्णयमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, प्रतिपक्ष दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पाटीहरुले पनि असहमति जनाएका छन् । एमाले महासचिव शंकर पोखरेलले नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताए । उनले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको अभिव्यक्ती दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति व्यङ्ग्य गर्दै सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त ? भन्ने तर्क गरेका छन । उनले आजको युग सोसल मेडियाको युग भएकाले प्रतिबन्ध लगाउनु उचित नभएको दाबी गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको टिप्पणी गरे ।
उनले यो निर्णय निरंकुशताको बाटो भएको भन्दै तत्काल टिकटकमाथि सरकारले लगाउने प्रतिबन्ध फिर्ता गर्न माग गरे। यस्तै एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद सूर्य थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोक्ने तानाशाही निर्णय भएको उल्लेख गर्दै जनविरोधी निर्णय फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समयमा टिकटकका कारण धैरै समाजमा नकरात्कम कुराहरु फैलिने गरेका छन् भने सही तरिकाले प्रयोग गर्नेहरुका लागि सामाजिक संजाल टिकटकको माध्यम ज्ञान आर्जन, आर्थिक उपार्जन,सुचना सम्प्रेशषणको हतियारको रुपमा पनि टिकटक प्रचलित संजाल बन्न पुगेको छ ।