रिबन

टिकटकको डर सरकारलाई कि माओवादी र एमालेलाई ?

समाचार टिप्पणी
काठमाडौं । पछिल्लो समय टिकटक कसैका लागि सिर्जनशीलता देखाउने त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । सँगै रमाइलोका लागि अरुको खिल्ली उडाउने, विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने माध्यम पनि बनिरहेको थियो ।

जसकारण टिकटकलाई नियमन गर्नुपर्ने आवाज उठ्दै आएको थियो । एमाले नेतृत्वको सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्ने विषयमा विधेयक नै ल्याएर संसदमा दर्ता गराउन खोजेको थियो । तर तत्कालीन विपक्षी नेपाली कांग्रेस र माओवादीलगायतले त्यसको विरोध गरे ।

अन्य सामाजिक सञ्जालभन्दा टिकटक निकै नै प्रभावकारी बन्दै गएको थियो । सांस्कृतिक रूपमा विचलन ल्याउने काम पनि टिकटकले गरेको देखिएको थियो । सोही कारण एमाले, माओवादीलगायतका दल टिकटक प्रतिबन्ध गर्नुपर्ने पक्षमा देखिएका थिए ।

यसबीचमै रुपन्देही माओवादी नेतृ शान्ति बरालले टिकटक लाइभमा आफ्नो वक्षस्थल देखाएपछि यो विषय निकै विवादित बन्यो । माओवादीले उनलाई पार्टीबाटै निकाल्यो । नेपाली जनता तिहारको रमझममा रमाइरहेका बेला सोमबार सरकारले एकाएक टिकटक बन्द गर्ने निर्णय गर्न पुग्यो ।

जसले अहिले देशमा दुईथरी बहस सिर्जना गरेको छ । एक पक्ष टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने सरकारको निर्णय ठिक भनिरहेका छन् । अर्को पक्ष यसले मौलिक वाक स्वतन्त्रताको हनन हुन पुगेको दलिल पेस गरिरहेको छ । नेपालका बुद्धिजीवी वर्ग पनि टिकटकले सिर्जना गरेको छाडापनको विषयमा यसलाई प्रतिबन्ध गर्दा फरक नपर्ने बताइरहेको छ । खासगरी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको स्रोतले बताएको छ । माओवादीमा टिकटकले सांस्कृतिक विचलन ल्याएको आवाज उठेको छ ।

एमाले अध्यक्ष ओली भने मंसिर ७ गते हुने दुर्गा प्रसाई समूहको जनप्रदर्शनको प्रचार प्रसार नियन्त्रण गर्न टिकटकमाथि ब्यान्ड गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले समाजमा विसंगति, विकृति र अराजकता फैलाएकाले नेपालमा टिकटक बन्द गरिएको दाबी गर्नुले पनि यो कुरालाई पुष्टि गर्छ । मंगलबार बिहान ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृतिलाई के गरी नियन्त्रण गर्ने भन्ने छलफलपश्चात टिकटक बन्द गर्ने निर्णय भएको जानकारी गराए । प्रचण्डले देशभित्रका सत्ता पक्ष र प्रतिपक्ष, सबै राजनीतिक दलसँगको लामो बहसको सहमतिपश्चात बन्द गर्ने निर्णय भएकोसमेत दाबी गरे।

‘सामाजिक सद्‍भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले बन्द गर्ने निर्णय गरिएको जानकारी गराउन चाहन्छु। यसमा मत विमति पनि होलान्, तर म प्रधानमन्त्रीको हैसियताले हुँदासम्म नेपाली समाजमा विसंगति, विकृति र अराजकता फैलाउन दिन्नँ। नियमन गर्नेलाई नियमन गर्ने हो।

रोक्नेलाई रोकेर जाने हो। केही साथीहरुको चित्त बुझेको छैन। छलफल र बहस हुँदै जाला,’ उनले भने । यसले पनि टिकटकबाट एमाले र माओवादी नेताहरू तर्सेको स्पष्ट हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *