
काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदी–बनीहि नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ ।
त्यसैले काठमाडौं महानगरपालिकाले आज रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने भएकाले दिनभरी खुल्ला रहने जनाएको छ । साथै महानगरपालिकाले त्यहाँको व्यावस्थान पनि मिलाएको छ ।
मन्दिर परिसरमा टीका र फूलमाला लिएर बसेकाहरुसँग टीका थाप्ने चलन छ । भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहे पनि बालगोपालेश्वर मन्दिर भने बिहानैदेखि खुलेको छ ।
बालगोपालेश्वर मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि संचालनमा आएको छ ।