काठमाडौं । आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आयोजना हुँदैछ । भारतको अहमदावाद क्रिकेट मैदानमा हुने फाइनल खेलमा भारतले पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ ।
एक लाख ३० हजार दर्शक रहने मैदानमा भारतसामु उपाधि खडेरी तोड्ने अवसर छ । अस्ट्रेलियाविरुद्धको फाइनल जिते १० वर्षको उपाधि खडेरी तोड्ने छ
रोहित शर्माको अपराजित टोली भारतले यसपल्टको प्रतियोगितामा भने लगातार १० खेल जितेको छ । सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप क्रिकेट जितेको थियो । सन् २०११ मा पछिल्लो पटक जित्दा त्यो उपलब्धि आफ्नै भूमिमा प्राप्त भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टोलीको जस्तै दबदबा रहे पनि देशले सन् २०१३ यता कुनै उपाधि जित्न सकेको छैन । त्यो वर्ष भारतले जितेको भनेको च्याम्पियन्स ट्रफी थियो ।
अहिले पनि लयमा फर्कने क्रममा अस्ट्रेलियाले पछिल्लो आठ खेल लगातार जितेको छ । अस्ट्रेलिया पाँचपल्टको विश्व च्याम्पियनमात्र होइन, टोलीले सन् २०२१ मा ट्वान्टी–२० विश्वकप पनि जितेको छ । गत वर्ष वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि हराएको भनेको भारतलाई नै हो ।
यसपल्टको विश्वकपमा भारतले लिग चरणको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । त्यतिबेला चेन्नईमा प्याट कमिन्सको टिम एक सय ९९ रनमै अलआउट भएको थियो । लगत्तै लखनउमा अस्ट्रेलिया दक्षिण अफ्रिकाको हातबाट एक सय ३४ रनले पराजित रह्यो । अर्को सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई मुम्बईमा ७० रनले हराएको थियो ।
भारतसँग यस विश्वकपकै सफल बलर मोहम्मद सामी छन् । उनले ६ खेलमा २३ विकेट लिएका छन् । न्युजिल्यान्डविरुद्धको अन्तिम खेलमा उनले ५७ रनमा ७ विकेट लिएका थिए ।
भारत र दक्षिण अफ्रिकाविरुद्धका सुरुआती दुई खेल गुमाएर लड्खडाएको अस्ट्रेलिया अहिले पूर्णतः आफ्नो वास्तविक स्वरुपमा फर्केको छ । त्यसपछि अस्ट्रेलियाले लिग चरणका सात खेलमात्र लगातार जितेन, केही उत्कृष्ट प्रदर्शनको इतिहास पनि बनाएको छ । सन् २००२ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई जोहानसबर्गमा १ सय २५ रनले हराएको थियो । आइतबारको फाइनल भने दुई टिमबीच विश्वकपमा आठौं खेल हुनेछ ।