
काठमाडौं । महिला टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आजको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।
हङकङमा जारी चार देश सम्मिलित प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।
एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राई, इन्दु बर्मा, सीता राना मगर, खुशी डंगोल र सोनी पाख्रिनले एक–एक विकेट लिइन् । महिला टि–२० सिरिजमा आयोजक हङकङ, नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।