राजनीति

एनआरएनएविरुद्ध रामकुमारी झाँक्री अझै आक्रोशित, गरिन् यस्तो टिप्पणी

काठमाडौं । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीमा गैरआवासीय नेपाली (एनआरएनए) सँगको रिस अझै मरेको देखिएको छैन । दशैंताका काठमाडौंमा आयोजित एनआरएनए महाधिवेशनमा उनले दिएको भाषण निकै चर्चित र विवादास्पद बनेको थियो । उनले विभिन्न हथकण्डा प्रयोग गरेर विदेश जाने र भोलिपल्टैदेखि आँखा मिच्दै नेपाली नेतालाई गाली गर्ने गरेको भन्दै आक्रोश पोखेकी थिइन् । त्यसपछि उनीविरुद्ध एनआरएनए असन्तुष्ट बनेका थिए ।

झाँक्रीले गैरआवासीय नेपालीहरुले नेपालमा लगानी भित्र्याउँछन् भनेर विश्वास गर्नु मूर्खता भएको टिप्पणी गरेकी छिन् । शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले गैरआवासीय नेपालीले देशमा लगानी ल्याउँछन् र देश विकास हुन्छ भन्नु भ्रममात्रै भएको बताएकी हुन् । उनले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकतामात्रै दिने सकिने बताइन् । उनीहरुलाई राजनीतिक अधिकार दिन नसकिने उनले फेरि अडान राखिन् ।

‘जुन मान्छेले यो देशको नागरिकता त्यागे, पासपोर्ट त्यागे, परिवार, संस्कार त्यागे । अर्को देशको नागरिकता लिए, त्यहाँको करदाता भए । त्यहाँका दर्जा अनुसारका भोटर भए ।

तिनै मान्छेले परित्याक्त गरेको देशमा आएर लगानी गरिदिन्छन् भन्ने कुराको ख्वाप राख्ने मान्छे हामी मुर्ख हौं,’ उनले भनेकी छन्, ‘भावनाको कुरा गरौं– जुन मान्छेले आफ्ना बाबुआमा मर्दा किरिया गर्न आउँदैन, अनि ती मान्छेले लगानी ल्याइदिन्छ भनेर विश्वास गर्ने हामी जत्तिको मूर्ख मान्छेको हो ? जो मान्छेले यहाँ (नेपाल) को सम्पत्ति बेचेर हुण्डीमार्फत लगेको छ, त्यसले सम्पत्ति ल्याइदिन्छ भनेर विश्वास गर्ने हामी मूर्ख होइन भनेको ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *