अर्थ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख जम्मा

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्न हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ ।

कात्तिक १७ मा गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ देखि मंसिर १ गतेसम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई आह्वान गरेको थियो । त्यसपछि विभिन्न संघसंस्था र व्यक्तिहरूले कोषमा रकम जम्मा गर्दै आएका छन् ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो । भूकम्पले १३ जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

हालसम्म भूकम्पपीडितको पुनःस्थापना गर्न सरकारले सकेको छैन । अझै पनि पीडितको बास त्रिपालमुनि नै छ । अहिलेसम्म चिसोका कारण पाँचजनाले ज्यान गुमाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *