राजनीति

आफू संकटमा पर्न थालेपछि बाबुराम र विप्लव कार्ड फाल्दै प्रचण्ड

काठमाडौं । यतिबेला एक्लो दुर्गा प्रसाई प्रमुख प्रतिपक्षी एमाले र सरकारका लागि टाउको दुखाई बनेका छन् । साढे पाँच अर्बभन्दा बढी ऋण लिएर करिब एक दर्जन बैंक तथा वित्तीय संस्थालाई संकटमा पारेका प्रसाई राप्रपाका लागि पनि काउसो बन्ने देखिएका छन् । प्रसाईले एमाले, माओवादीले काम गर्न नसकेको, राप्रपाले राजसंस्थाको एजेन्डा बोक्न नसकेको भनेर हायलकायल पारिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अतीततिरै फर्किने तयारी गरेका छन् ।

कुनै समय माओवादीलाई लोकप्रिय र चर्चित बनाउन बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई फेरि पनि सँगै लिएर हिँड्ने सोच प्रचण्डले पालेका छन् । आइतबार रुकुम पुगेर उनले आफ्नो भावी गन्तव्य स्पष्ट पारेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ६, मैकोटमा आयोजित पार्टीको जिल्लास्तरीय विशेष प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धमार्फत जनवादी क्रान्ति मूलभूत रूपमा पूरा गरेकाले अब समाजवादी क्रान्तिको दिशामा अभियान अघि बढेको उल्लेख गरे ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ सञ्चालित जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको मैकोट पुगेका प्रचण्डले विगतमा राज्यबाट विकटका जनतालाई चर्को दमन भएपछि जनयुद्धमा जानुपरेको स्मरण गरे । आवश्यकता र बाध्यताबीचच जनयुद्धको घोषणा गरिनु नै ऐतिहासिक आवश्यकता रहेको दाबी गरे । जनयुद्धमा भएको त्याग, तपस्या र बलिदानी किर्तिमानी रहेको उल्लेख गर्दै प्रचण्डले जनवादी क्रान्तिपछि अब नयाँ आन्दोलन, नयाँ क्रान्ति र नयाँ अभियानको तयारीमा रहेको बताए ।

रूपान्तरण अभियानले समाजवादको बीउ रोप्न सुरु गरेको दाबी गर्दै उनले जनताको जीवनमा अधिकार र सुविधा दिन अभियान सुरु गरिएको बताए । माओवादीहरू एक नहुँदा जनतामा निराशा छाएको र बलिदानबाट आएका उपलब्धिहरू खेर जाने डर बढेकाले सबै एकताबद्ध हुन सहमत भइसकेको पनि उनले बताए ।

‘बाबुराम र विप्लवहरूसँग कुरा भएको छ, सबै मिल्ले कुरामा एकमत छौं । हामी विभाजित हैन, एकताबद्ध भएर नयाँ आन्दोलनमा जाने सहमति भएको छ,’ उनले भने । बाबुराम र विप्लव अहिले माओवादीमा नभए पनि दुवैलाई प्रचण्डले साथमै राखेका छन् । बाबुरामको नेपाल समाजवादी पार्टीसँग कार्यगत एकता छ भने विप्लवलाई प्रचण्डले समाजवादी मोर्चामा आबद्ध गरेका छन् ।

कुनै पनि समय वा आफू संकटमा पर्ने अवस्था आएमा बाबुराम र विप्लवको कार्ड खेल्ने प्रचण्डको उद्देश्य देख्न सकिन्छ । त्यसैले माओवादी र नेसपाबीच पार्टी एकताको करिब करिब सहमति भएको छ ।दुई पार्टीबीच एकता गर्ने प्रयासस्वरूप आइतबार छलफल भएको छ । नेसपाबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबीच वार्ता भएको हो ।

बैठकले एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ–आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ । दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको महरा र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केही दिनअघिसम्म माओवादी र नेसपाको एकता प्रक्रिया भाँडिएको थियो । तर अहिले फेरि ब्यूँतिएको छ ।

बाबुराम र विप्लवलाई माओवादीमा ल्याउन सके जनार्दन शर्मा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतहरूको शक्ति क्षयीकरण गर्नसकिने विश्वासमा प्रचण्ड छन् । सोही कारण एउटै पार्टीमा नभए पनि प्रचण्डले बाबुराम र विप्लवलाई टाढा जान दिएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट