
काठमाडौं । पछिल्लो समय बीमा कम्पनीले घर, गाडी र सेयरको बीमा गर्न छाडेका छन् । दुई वर्षअघि घरजग्गा, गाडी र सेयर धितो राखेपछि बैंकले आजको आजै कर्जा दिन्थ्यो । तीन करोड मूल्य बराबरको घरजग्गा, गाडी र सेयर भएमा दुई करोड ऋण दिइन्थ्यो । अहिले घरजग्गाको लालपुर्जा वा नक्सा, सेयरको प्रमाणपत्र र गाडीको बिलबुक लिएर ऋण माग्न जाँदा बैंक पैसा छैन भनेर फिर्ता पठाउँछ ।
दुई वर्षअघि तीन करोडमा किनेको घरजग्गा, गाडी र सेयर धितो राखेर बीस लाख कर्जा माग्दासमेत बैंक दिन मान्दैनन् । बैंककै कर्मचारी तथा सञ्चालक उल्टै भन्छन्, ‘बरु घरजग्गा, गाडी र सेयर किन्ने ग्राहक ल्याइदिनुस् ।’ बैंकका कर्मचारी र सञ्चालकहरूको भनाइअनुसार बैंकको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा फसेको छ । कर्जा प्रवाह गर्न पैसा छैन । धितो पनि बिक्री हुन्न । कहिल्यै यिनीहरूको मूल्य ह्वात्तै बढ्ने त कहिल्यै घट्ने भएपछि बीमा कम्पनीहरूले पनि घरजग्गा, गाडी र सेयरको बीमा गर्न छाडेका हुन् ।
बजारमा पाइलैपिच्छे कोठा, सटर र फ्ल्याट खाली देखिन्छ । तिहारपछि धेरैले पसल र कोठा छोड्ने अवस्था निम्तिएको छ । काठमाडौंको न्युरोड, ठमेल, इन्द्रचोक, पुतलीसडक, चावहिल, भक्तपुरको सूर्यविनायक, सल्लाघारी, जगाती, ललितपुरको ग्वार्को, सातदोबाटोलगायत विभिन्न ठाउँमा धमाधम सटर तथा कोठा खाली भइरहेको देखिन्छ ।
मालपोत र यातायात कार्यालय वरपर कोठा, सटर भाडामा लिएर बस्दै वा व्यापार गर्दै आएका पनि पलायन हुन थालेका छन् । कानुन व्यवसायी र लेखनदास पनि काम नपाएपछि भौंतारिएका छन् । काम नभएपछि ६ महिनादेखि एक वर्षसम्मको भाडा तिर्न नसकेको उनीहरू गुनासो गर्छन् । चार दशकअघि काठमाडौं उपत्यकामा घर कमै थियो । बस्ती पातलो थियो । जसकारण मानिसहरू साँझ पर्नेबित्तिकै भूत आउँछ भनेर डराउँथे । अहिले त आफैंले बनाएको घरले घरधनीको सातो गएको छ । भाडा खान पाइन्छ भनेर बैंकबाट ऋण लिएर घर बनाए । तर, भाडामा बस्ने कोही नभएपछि आफ्नो घरले आफैंलाई तर्साउनुका साथै बैंकले ऋणले आत्महत्या गर्नुपर्ने अवस्था आएको छ ।
कतिपय घरधनी त भाडामा बस्न कोही आएमा सस्तोमा दिने पनि बताउँछन् । अधिकांश घरमा सहकारी सञ्चालन भएका थिए । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर सहकारी रातारात फरार भएकाले घर खाली भएको हो । घाटामा गएका कारण बैंकले आफ्नो शाखा कार्यालय बन्द गर्दा पनि धेरै घर खाली भएको छ । बैंक तथा वित्तीय संस्थाको ९५ प्रतिशत कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ । तर सेयर किन्ने कोही छैन ।
घरजग्गा र गाडीको पनि अवस्था उस्तै छ । र, यो कुरा बीमा कम्पनीले थाहा पाएपछि पनि समस्या आएको हो । घरजग्गा, गाडी र सेयरको कारोबार अहिले ठप्प छ । यसले पछि क्षतिपूर्ति दिनुपर्ने डरमा पनि बीमा कम्पनीहरू यसको बीमा गर्न मान्दैनन् ।
बैंक तथा वित्तीय संस्थाले अब घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाह गरे नराम्ररी डुबिन्छ भनेर थाहा पाइसके । बैंक भनेको पैसा बेच्ने व्यापारी हो । बैंकले कर्जा प्रवाह गरेन भने सेवाशुल्क, ब्याज, पेनाल्टी केही आउँदैन । जनता तथा बचतकर्तासँग ५ प्रतिशतदेखि ८ प्रतिशतसम्ममा रकम लिन्छ बैंक । तर, त्यही रकम घुस खाएर सेवाशुल्कसँगै १६ प्रतिशतदेखि ४८ प्रतिशत ब्याजसम्ममा कर्जा लगानी गर्छन् । यसरी कर्जा लगानी गर्न नसक्दा वा ऋण नपाइँदा बैंकले बचतकर्तालाई कसरी ब्याज दिन्छ ? कसरी कर्मचारीलाई तलब र घरधनीलाई भाडा तिर्छ ? कसरी राज्यलाई कर तिर्छ ?
डेढ वर्षअघि हाम्रो आफ्नै भवन छ, हामी भाग्दैनौं भन्ने सहकारी पनि अहिले भागिसकेका छन् । सहकारीजस्तै हालत बैंकको हुने भएको छ ।
केही बैंकले कर्मचारीलाई तलब दिन सकेको छैन । घरभाडा तिरेको छैन । बचतकर्ताको रकम फिर्ता गर्न धौधौ परेको छ । कतिपय व्यापारीले बैंकबाट अर्बौं कर्जा लिएर साँबाब्याज नतिरेको पनि सुनिन्छ । तीन करोड मूल्य पर्ने धितोलाई बैंकले घुस खाएर दुई करोड कर्जा प्रवाह गर्यो ।
धितो घटेर एक करोडमा झरेको छ । ऋण बढेर तीन करोड पुग्यो ।
धेरै सहकारीले बचतकर्ता ठगे पनि सरकार जेल हाल्न सक्दैन । न बचतकर्ताको रकम नै फिर्ता गराउन सक्छ ।सहकारीको दर्तासमेत सरकार खारेज गर्न सक्दैन । मुलुकभर दर्तामा रहेका ३५ हजार दुई सय ३९ सहकारीले करोडौं बचतकर्ताको खर्बौं रकम डुबाइदिएका छन् । बैंकले पनि यसरी नै बचतकर्ताको रकम डुबाउन लागेको छ । सहकारी डुब्नुको कारण घरजग्गा, गाडी र सेयर हो भनेर बच्चादेखि बूढासम्मलाई थाहा छ । बैंकको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । यसैले बैंक पनि भाग्ने दिन आएको छ ।
सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्यो । सेयरमा लगाएको १२ करोडको सीमा हटायो । तापनि यिनीहरूको कारोबार र मूल्य बढ्न भने सकेन । सार्वजनिक स्थल, बस, चिया पसललगायतमा मानिसहरू मुलुकको अर्थतन्त्र श्रीलंकाभन्दा नाजुक अवस्थामा पुगेको भनेर गफ गरिरहेको सुनिन्छ । अहिले राजस्व संकलनको स्रोत कतै छैन । नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउनसमेत विदेशी ऋण लिनुपरेको भनेर खुलेरै भनेका छन् ।
प्रधनमन्त्री माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री कांग्रेसका डा.प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी एमालेका हुन्् । यी तीनजनाले आफ्नो पद जोगाउन सञ्चारकर्मी र जनतालाई भ्रममा पारेका छन् । अर्थतन्त्र ठिकठाक देखाउन झुटो विवरण सार्वजनिक गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री जनार्दन शर्मा थिए । उनले सरकारी कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता र सेवासुविधा कटौती गर्ने भनेर आवश्यक प्रक्रिया अघि बढाइसकेका थिए । तर, देउवा सरकारबाट हट्नेबित्तिकै प्रचण्ड सरकारमा एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बने । पौडेल पनि मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगेकाले सरकारी खर्च कटौती गर्न लागिपरेका थिए । पछि एमाले सरकारबाट बाहिरियो ।
कांग्रेसका नेता महत अर्थमन्त्री बने । अर्थ मन्त्रालयका तत्कालीन सचिवले सरकारी कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता, पेन्सन र सेवासुविधा कटौती गर्नुपर्ने भनेर भन्दाभन्दै महतले टेरेनन् । उल्टो सचिवको सरुवा गरिदिए । गत ज्येठ १५ गते बजेट ल्याइयो । बजेट भाषणमा सरकारी कर्मचारी र जनप्रतिनिधिको तलबभत्ता र सेवासुविधा कटौती गरिएन । विभिन्न ठाउँबाट राजस्व संकलन गर्ने उनले त्यसबेला बजेट भाषणमा भने । तर, अहिले राजस्व संकलन शून्यझैं भएको छ । अर्थमन्त्री महत न राजस्व संकलन गर्न सक्छन् न तलबभत्ता र पेन्सन कटौती गर्न सक्छन् । सार्वजनिक कार्यक्रममा भने अर्थतन्त्र सुधार भइरहेको मात्र भाषण गर्छन् ।