राजनीति

ओली आङछिरिङ शेर्पा र दीपक मलहोत्राका बिजनेस पार्टनर !

काठमाडौं । पूर्वएमाले केन्द्रीय सदस्य एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । विगतमा ओलीकै कारण धेरै आर्थिक लाभ लिएका प्रसाईले ओली व्यापारी आङछिरिङ शेर्पा र दीपक मलहोत्राको बिजनेस पार्टनर भएको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पूर्वराजाको सम्पत्ति नेपाल ट्रष्टमा ल्याएर ओलीले आङछिरिङ शेर्पाको स्वामित्व रहेको यति समूहलाई दिएको आरोप लगाएका हुन् । शेर्पाको केही वर्षअघि हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ ।

प्रसाईले आफूलाई एमाले अध्यक्ष ओलीदेखि थुप्रै नेताहरुको काण्ड थाहा भएको दाबीसमेत गरेका छन् । एमाले नेताहरुका ती काण्डहरु विस्तारै बाहिर ल्याउने उनले बताए । ‘राजाको सम्पत्ति जम्मै नेपाल ट्रष्टमा ल्याएर नेपाल ट्रष्टको सम्पत्ति आङछिरिङलाई दिएको छ भनेपछि तपाई कुरा बुझ्नुस् न । माथि एयरपोर्ट हेर्नुस् त दीपक मलहोत्रा, दीपक मलहोत्रा कसको पार्टनर हो ?’ प्रश्न गर्दै उनले भने, ‘तुल्सीलाल अग्रवाल कसको पार्टनर हो ? राजाको सम्पत्ति जम्मै नेपाल ट्रष्टमा ल्याएर जम्मै आङछिरिङलाई दिएका छन् केपी ओलीले । आङछिरिङ भनेकै केपी ओली हो,’ प्रसाईले भनेका छन् ।

केही समयअघि मात्र प्रसाईले ओलीको कम्बोडियाको टेलिकममा ३० अर्ब बराबरको लगानी भएको आरोप लगाएका थिए । ओलीले त्यसलाई सार्वजनिक रूपमै खण्डन गरिसकेका छन् । एमाले नेता महेश बस्नेतको निर्देशनमा युवा संघले आफूलाई कालोमोसो दलेदेखि प्रसाई एमालेविरुद्ध आक्रामक भएर लागेका छन् । उनले हरेक दिन एमाले नेताको बारेमा एउटा न एउटा लाञ्छना लगाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *