राजनीति

माओवादीको नियुक्तिमा लीलामणि पौड्याललाई सधैं अवसर

काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौड्याल यस्ता पूर्वप्रशासक हुन्, जो सधैं नियुक्ति पाइरहन्छन् । गृह मन्त्रालयमा लामो समय बिताएर निजामती प्रशासनको उत्तराद्र्धमा बाबुराम भट्टराईकै कारण माओवादी बनेका पौड्याललाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र अन्तर्गतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउने योजना तयार पार्न समितिको संयोजक नियुक्त गरेका छन् ।

अध्ययन समितिको सदस्यमा पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्रा.डा. खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम छन् । अध्ययन समितिको सदस्य सचिव मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम छन् ।

मुख्यसचिवलगत्तै चीनका लागि नेपाली राजदूत नियुक्त भई आफ्नो कार्यकाल पूरा गरेका पौड्याल माओवादीको बुद्धिजीवी विभागमा छन् । उनलाई प्रो–चाइनिज पूर्वप्रशासक भनेर चिनिन्छ । नेपाल सरकारले गरेका हरेक निर्णय सबैभन्दा पहिले उनले चिनियाँ दूतावासलाई उपलब्ध गराउने गरेको तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सूचना पाएका थिए । रेग्मी नेतृत्वको अन्तरिम सरकार हुँदा पौड्याल मुख्यसचिव थिए । निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिव हुँदा कुनै माखो नमारेका पौड्याललाई गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालय र अन्तर्गतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउन नीति बनाउनेभन्दा जागिर खान मात्रै नियुक्ति गरिएको बुझिएको छ ।

पदविना लामो समयसम्म बस्न नसक्ने भएकैले मन्त्री श्रेष्ठले पौड्याललाई अहिले सो नियुक्ति दिइएको गृह मन्त्रालयमा चर्चा छ । पौड्याललाई केही समयअघि सीआईबीले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बयान लिएको थियो । तर माओवादीकै कार्यकर्ता भएकाले सरकारले उनलाई उन्मुक्ति दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *