अर्थ

आयल निगमका कार्यकारी निर्देशक थानीले गरे मन्त्रालयसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले प्रत्येक वर्ष गर्ने कामबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। पहिलो वर्षको कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक सय अंकभारमा उनले ९०.५ अंक पाएपछि मन्त्रालयले अर्को वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको हो ।

थानीले ०७८ फागुनमा तीन वर्षका लागि निगमको कार्यकारी निर्देशमा नियुक्त भएका थिए । कासमुमा थानीले ०७९ फागुनसम्म एक वर्ष अवधिमा गरेका कामको प्रगति विवरणबारे मूल्यांकन भएको थियो।

यो अवधिमा आफूले भौतिक पूर्वाधारतर्फ मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ल्याउन आवश्यक अमलेखगन्जमा भण्डारण गृहको निर्माण प्रक्रिया सुरु गरेको, पोखरास्थित डिजेल भण्डारणगृहको कामलाई अन्तिम रूप दिएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माणका लागि टेन्डर आह्वान गरेको, चितवन र झापामा भण्डारण गृह तथा पाइपलाइन विस्तारका लागि जग्गाको नापजाँच टुंग्याएको लगायतका विषय प्रगति विवरणमा उल्लेख छन्।

०७८ फागुनदेखि ०७९ फागुनको एक वर्ष अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर उच्च बिन्दुमा पुगी आयल निगमले मासिक नौ अर्ब रुपैयाँसम्म घाटा व्यहोर्दा पनि पेट्रोलियम आपूर्तिमा अवरोध हुन नदिएको विषयलाई प्राथमिकताका साथ कासमूमा समेटिएको छ।

पूर्वाधार निर्माण र इन्धनको सहज आपूर्ति तथा वितरण दुवै काममा कार्यकारी निर्देशक थानीको प्रगति राम्रो देखिएकाले उत्कृष्ट अंक ल्याउन सफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *