राजनीति

रवि लामिछानेका कोर टिम धमाधम काण्डमा मुछिँदै, नयाँ काण्डले पार्टीमा उधूम

काठमाडौं । निर्वाचन आउन चार वर्ष बाँकी छँदै ‘मिसन ८४’ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीमा एकपछि अर्को काण्ड सार्वजनिक हुने क्रम जारी छ । स्थापना भएदेखि नै रास्वपा विवादैविवादले घेरिएको छ । स्वयं पार्टी सभापति रवि लामिछाने नै ठूल्ठूला काण्डमा मुछिए । रास्वपामा नैतिक पतनदेखि घुसकाण्ड सार्वजनिक हुँदा पनि सभापति रवि लामिछाने अर्को निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत चाहियो भन्दै हिँडेका छन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक अहिले महोत्तरीमा जारी छ । बैठक बुधबारसम्म चल्ने छ । बैठकले महत्वपूर्ण निर्णय लिने नेताहरुले बताएका छन् । तर यसबीचमा दुईवटा काण्डले रास्वपामा भित्रभित्रै भुसको आगो फैलिरहेको छ । सभापति लामिछानेका कोर टिमका एक सदस्यले घुसकाण्डका कारण केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।

कास्कीका ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाइदिने भन्दै मोहनकुमार थापाले तीन करोड घुस मागेको घटना सार्वजनिक भएको थियो । श्रेष्ठले आन्तरिक र सार्वजनिक रुपमै सो कुरा बताएका थिए ।

तर रविले श्रेष्ठको सांसद पद नै खाइदिए । उनलाई पार्टी सदस्यबाटै हटाए । थापा रविका दाहिने हात मानिन्छन् । अमेरिकामा हुँदा रविलाई आर्थिक रुपमा निकै सहयोग गरेका थिए । थापामाथि अमेरिकामा विभिन्न मुद्दा अदालतमा दर्ता भएको छ । रविकै दबाबका कारण गुपचुप ढंगले थापाले केन्द्रीय सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको बताइन्छ ।

मोहन थापाविरुद्ध मन्त्री बनाउने भन्दै आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेपछि पार्टीले छानबिन गर्ने भनिए पनि छानबिनमा के आयो, सार्वजनिक भएको छैन।अर्का केन्द्रीय सदस्य दीपक बोहोराको यौनकाण्ड सामसुम पार्ने प्रयास भएको छ । रवि मिडिया क्षेत्रमा लागेदेखि नै उनलाई सहयोग गर्दै आएका बोहोरामाथि बागमती प्रदेशकै एक महिला नेतृले जबर्जस्तीकरणीको आरोप लगाएकी छिन् ।

स्रोतका अनुसार प्रदेशमा परेको उजुरी प्रदेश प्रमुख अच्युतम लामिछानेले उजुरी प्रक्रियालाई अगाडि बढाएका छैनन्। बोहोरा पार्टी खुल्नु अगाडिदेखि नै पार्टी सभापति लामिछाने निकट छन्। न्युज २४ देखि ग्यालेक्सी फोरकेसम्म पनि उनी रविसँगै थिए। पार्टी खोलेपछि उनी पनि राजनीतिमा आए। रवि गृहमन्त्री हुँदा उनी मुख्य स्वकीय सचिव बनेका थिए।

बोहोरालाई रविको आर्थिक कलेक्टर भनेर चिनिन्छ । काठमाडौंमा केन्द्रीय समितिको बैठक बस्दा यौनकाण्ड छताछुल्ल हुने भयले रविले मधेस मिसन भन्दै महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट