देश

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको पदाधिकारी बैठकले भूकम्प पीडितलाई एकमुस्ट ५० हजार दिन सरकारको धन्यानाकर्षण गराएको हो।

पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए। ‘कांग्रेसबाट सहभागी मन्त्रीहरूले सरकारले निकासा गरेको रकम अझै पीडितले नपाएको ब्रिफिङ गर्नुभयो। यस्तो चिसो मौसममा अस्थायी आवास निर्माणका लागि किस्ताबन्दीमा दिने कुराहरू आएको छ। कांग्रेस त्यसको पक्षमा छैन। पीडितलाई एकमुष्ट ५० हजार दिन ध्यानाकर्षण गराउँछौं,’ सञ्चारकर्मीसँग उनले भने।

पछिल्लो समयमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको विश्वकर्माले बताए। ‘कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको हो। हामी सधैं संविधानको पक्षमा छौं,’ उनले भने।

बैठकपछि अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् । बुधवार कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए ।

‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ । फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने ।

बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *