राजनीति

कांग्रेस र एमालेकै बाटोमा रास्वपा, संघीयताको विकल्प खोज्ने

काठमाडौं । आफूलाई नयाँ वैकल्पिक पार्टीको रूपमा दाबी गर्दै आएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि नेपाली कांग्रेस र एमालेकै बाटोमा अघि बढेको छ ।

उसले आफूलाई बहुलवादी लोकतान्त्रिक दलका रूपमा परिभाषित गरेको छ । पार्टी घोषणाको १७ महिनापछि रास्वपाले आफ्नो राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको बैठकबाट रास्वपाले उदार लोकतान्त्रिक शक्तिको परिचय दिने गरी राजनीतिक प्रस्तावना पारित गरेको हो ।

पूरा राजनीतिक प्रतिवेदन तयार पार्न बाँकी रहे पनि प्रस्तावना मार्फत रास्वपाले पार्टी स्थापनादेखि खेप्दै आएको वैचारिक प्रश्नबारे आफूलाई प्रष्ट पार्ने प्रयास गरेको छ ।

रवि लामिछानेको सार्वजनिक अभिव्यक्ति र आमचुनाव–२०७९ का बेला सार्वजनिक घोषणापत्रलाई लिएर रास्वपाको वैचारिक प्रष्टताबारे प्रश्न उठ्ने गरेको थियो । उनका अभिव्यक्ति र उसको घोषणापत्रलाई नै आधार मानेर कांग्रेस, एमाले, माओवादीजस्ता पुराना दलहरुले रविले ‘लोकप्रियतावादी’ प्रश्न सोध्ने गरे पनि समाधान दिने वैचारिक बाटो नभएको आरोप लगाउने गरेका थिए । तर उनी पनि घुमिफिरी रुम्जाटार भनेझैं लोकतान्त्रिक दलकै बाटोमा आइपुगेका छन् ।

तर रास्वपाले संघीय संरचनाप्रति असन्तुष्टि जनाएको छ । अहिलेको प्रदेश संरचनाले कहीँ नलैजाने, प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको रास्वपाको बुझाई छ । छ । ‘यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नुहुन्न,’ सभापति रवि लामिछानेले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको प्रदेश संरचना दलका नेता–कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएकोजस्तो प्रतित हुन्छ । र, एक हदसम्म हेर्दा हो कि झैँ पनि लाग्छ ।

आफ्नो उपादेयता पुष्टि गर्न नसक्दा आमनागरिक प्रदेशस्तरको संरचनाप्रति असन्तुष्ट छन् । नागरिकका आवाज सुनेरनसुनेझैँ गर्ने, असन्तुष्टि देखेरनदेखेझैँ गर्ने र नागरिकको भावना बुझे नबुझेझैँ गर्ने दल, राजनीतिक दल हुन सक्दैन । त्यसैले प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौँ । प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *