काठमाडौं । बुधबार राति संयुक्त अरब इमिरेट्स (युएई) उड्न लागेका ३१ यात्रुलाई बिचल्ली बनाएको नेपाल एयरलाइन्सले अर्को कपट गरेको छ । नेपाल एयरलाइन्सले फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ ।
बुधबार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए । उडान तालिका परिवर्तन हुँदा ३१ यात्रु छुटेको विषयमा एयरलाइन्सले सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ । ‘हामीले सबैलाई खबर गरेका थियौँ । कल पनि गरेको थियौँ । धेरै संख्या आउनु पनि भयो । केही छुट्नु भयो । उहाँहरु छुट्नु भएकामा हामीलाई दुःख लागेको छ,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘उहाँहरुलाई जतिसक्दो छिटो पठाउन हामी लागेका छौँ, बेलुका ११ः३० मा हाम्रै फ्लाइट छ । उहाँहरुलाई पठाउँछौँ ।’
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार नेपाल एयरलाइन्सको जहाज दुई घन्टाअघि नै उडेको थियो ।
जसमा ३१ यात्रुले टिकट काटेका थिए । दुई घन्टा अगाडि उडाएर नेपाल एयरलाइन्सले उडान मिति परिवर्तन भएको सूचना निकालेको थियो । निजी क्षेत्रका विमान नाफामा जाने र सरकारी विमान घाटामा जानुको कारण निगमको चरम लापरबाही देखिएको छ ।