समयले जसलाई पनि एकचोटि मौका दिन्छ । जसले त्यो समय र मौकालाई ख्याल गर्न सक्छ, त्यो अगाडि बढ्छ । मंसिर ७ गतेअघि दुर्गा प्रसाईंको पक्षमा हजारौं जनता थिए । तर, उनले राजा फर्काउने अडान लिँदा भएका समर्थनहरू पनि गुमाएका छन् । जनताको आवाज बन्ने बताउँदै आएका प्रसाईं ठ्याक्कै उल्टो गतिमा हिँडे । उनी जनताको आवाज होइन, राप्रपाको कार्यकर्ता बन्न पुगे ।
सर्वसाधारणले राजतन्त्र खोजेका होइनन्, समस्याको समाधान खोजेका हुन् । आमनागरिक व्यवस्थाप्रति रिसाएका होइनन्, व्यवस्था चलाउनेप्रति रुष्ट बनेका हुन् । तर, प्रसाईं राजतन्त्रको झोले बनेर हिँडे । सुरुवातमा उनले उठाएका विषयहरू जायज थियो । बैंक तथा वित्तीय संस्थाले पीडित बनाएको कुरा सत्य हो । उनले महँगी, बेरोजगारी, भ्रष्टाचारको विरोधमा पनि आवाज उठाउँदै आएका थिए । त्यसैले उनको पक्षमा धेरै सर्वसाधारण उभिसकेका थिए । सहकारीपीडित, लघुवित्तपीडित, सेयरपीडित, व्यापार–व्यवसायपीडितलगायत सबै उनकै पक्षमा थिए । प्रसाईंले आफ्नो आवाज उठाएको भन्दै सर्वसाधारणले उनको समर्थन गरिरहेका थिए ।
यहाँ लाखौं मानिसहरू बैंक तथा वित्तीय संस्थाबाट पीडित थिए । बैंक तथा वित्तीय संस्थाले खाएको धितो आन्दोलनपछि फिर्ता हुन्छ कि भन्ने आश पीडितहरूमा थियो । सहकारीपीडितहरू पनि आफ्नो डुबिसकेको बचत फिर्ता पाइन्छ कि भनेर आश गरिरहेका थिए । मंसिर ७ गतेअघि उनको आन्दोलनमा उत्रिन सबै तयार भइसकेका थिए । तर, जब उनले राजतन्त्रको पक्षमा बोले, सर्वसाधारण पछि हटे । सर्वसाधारण सडकमा आएनन् ।
जनताले राजा चाहेका रहेनछन् भन्ने स्पष्ट देखिसकेको छ ।
अब पनि राजतन्त्रको विषयमा बोल्ने हो भने प्रसाईंको हालत के होला ? २०८४ लको चुनावमा राप्रपा खुम्चिने निश्चित नै छ । समय कति शक्तिशाली छ भन्ने उदाहरण केपी ओली, महेश बस्नेत, गगन थापा र रवि लामिछाने हुन् । यिनीहरूले समयलाई आफ्नो कब्जामा लिन सिकें । समयअनुसार बोल्न जाने । जसले गर्दा यिनीहरू आज नेता बन्न पुगे । टेलिभिजनमा कार्यक्रम चलाउने पत्रकार लामिछाने आज पार्टीको सभापतिदेखि लिएर सांसद छन् । प्रसाईंले जनताकै पक्षमा आवाज उठाइरहेको भए, उनको आन्दोलन सायदै यति चाँडो तुहिन्थ्यो । उनी राजाको झोले रहेछन् भन्ने सबैले थाहा पाए । उनको आन्दोलनमा सहभागी हुन आएकाहरू पनि यतिबेला धमाधम आफ्नो गाउँ फर्किरहेका छन् ।
प्रसाईंबाट केही नहुने रहेछ भन्ने सबैले बुझे । जसकारण उनको पछाडि अब आमसर्वसाधारण लाग्दैनन् । अझै पनि राजतन्त्रको नारा लगाउने हो भने प्रसाईं पत्तासाफ हुन्छन् । अहिले हरेक घरका एक सदस्य विदेशमा छन् । रोजगारी नभएपछि नेपालीहरू धमाधम विदेशिरहेका रहेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको लर्को छ । तर, सरकारले देख्दैन ।
सरकारको आँखा खोल्न एउटा दह्रो नेतृत्वको आवश्यकता छ । प्रसाईंले नेतृत्व गर्न खोजेका थिए, तर राजतन्त्रको पछाडि लाग्दा सबै ‘बालुवामा पानी’ भइहाल्यो । सहकारीपीडितको पक्षमा आवाज उठाउने, देशको जनशक्तिलाई यहीँ रोजगारीको व्यवस्था मिलाउन माग गर्ने, भ्रष्टाचार र महँगीको विरोधमा बोल्ने हो भने उनको पक्षमा सर्वसाधारण आउन सक्छन् ।
बैंक तथा वित्तीय संस्थाले मच्चाएको लुटको धन्दाको विरोधमा उनी थप जोडतोडका साथ लाग्न आवश्यक छ । व्यवस्था परिवर्तन गर्न जनताले धेरै संघर्ष गरेका छन् । जनयुद्धमा त्यत्रो नेपाली सहिद भए । बल्लतल्ल ल्याएको व्यवस्थालाई पुनः पुरानैमा बदल्न जनता किन सडकमा आउँथे ? यो व्यवस्थाका लागि जनताले लामो समय लडेका छन् ।
२०५२ फागुन १ गते माओवादीले राजतन्त्रको विरोधमा हतियार उठायो । त्यतिबेला कसैले पनि माओवादीको कुरा पत्याएको थिएन । व्यवस्था परिवर्तन होला भनेर कसैले सोचेका थिएनन् । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यसपछि राजा ज्ञानेन्द्रले सत्ता सम्हाले । उनले २०६१ माघ १९ गते जनताको सम्पूर्ण अधिकार आफ्नो हातमा लिए । दरबार हत्याकाण्ड नभएको भए अहिले पनि राजतन्त्र रहन्थ्यो । राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूलाई नजरबन्दमा राखेर जनताको अधिकार नलिएको भए, सायदै राजतन्त्र हट्थ्यो ।
त्यतिबेलाका सात राजनीतिक दलका नेताहरू प्रचण्डकहाँ पुगे । २०५२ सालदेखि माओवादीले कथित जनयुद्धका क्रममा आर्मी, प्रहरी, व्यापारी, सरकारी कर्मचारी, पत्रकार, राजनीतिक दलका कार्यकर्ता मारिरहेको थियो । २०५२ सालपछि सरकारमा गएका पार्टीहरूले पनि जनतालाई माओवादीको कार्यकर्ता ठानेर मारिरहेको थियो । जब माओवादी र अन्य पार्टीहरूले समझदारी गरे, त्यसपछि राजा नै डगमगाउनुपर्ने भयो ।
माओवादी र सात राजनीतिक दलबीच १२ बुँदे सम्झौता भयो । त्यसपछि आन्दोलन सुरु भयो । २०६२–६३ को १९ दिने आन्दोलनपछि राजाले जनताको नासो जनतालाई नै फिर्ता गर्नुपर्यो । देशैभरका आमनागरिक सडकमा आएका थिए । सबै दल एक भएर २०६५ जेठ १५ गते राजालाई दरबारबाट हटाइदिए । राजाले फेरि पनि फर्किन्छु भन्नु कल्पना गर्नु मात्र हो ।
प्रसाईंले व्यवस्था फेर्छु भनेर आन्दोलन गर्नु पनि बेकार हो । प्रसाईंसँग एउटा अवसर थियो, जुन उनले गुमाए । जनताको मन जित्ने र पार्टी खोल्ने अवसरलाई उनले सदुपयोग गर्न सकेनन् । उनले ‘आफ्नो खुट्टामा आफैंले बञ्चरो’ हाने । त्यसैले कतिबेला के बोल्ने भनेर ख्याल राख्न निकै जरुरी छ । प्रसाईंले राजाको झोला बोक्दा आफ्नो अवसरमा गुमाए । राजनीति परिवर्तन धेरै योगदान गरेकाहरू अहिले पनि पछाडि नै छन् ।
समयअनुसार बोल्न सक्ने क्षमता नहुँदा उनीहरूले ठाउँ पाएनन् । ‘बोल्नेको चामल बिक्छ, नबोल्नेको पिठो पनि बिक्दैन’ भन्ने उखानै छ । माओवादीले हतियार उठाउँदा जनता त्यसरी पछाडि लाग्दैनथे होला । जातीय हिसाबमा धेरै हो भने धेरै नै विभेद थियो । गरिबी सबैभन्दा ठूलो समस्या थियो । रोजगारी थिएन, शिक्षा थिएन । त्यसैले पनि जनताले माओवादीलाई साथ दिए । माओवादीले यी विषयलाई आफ्नो एजेण्डा बनायो । राजाको विरोधमा आवाज उठाइयो । सामन्ती, शोषकहरूलाई कालोमोसो लगाउन थालियो । माओवादीले पनि ऋण मिनाहा हुने एजेण्डा बोक्यो । सामान्तीहरूले खाएको जग्गा फिर्ता दिलाउन माओवादी लागिपर्यो । तास खेल्नेलाई तास नै खुवाउँथ्यों । जाँडरक्सी खानेलाई नांगेझार बनाइन्थ्यो । त्यसैले सर्वसाधारण माओवादीको पछाडि लागे ।
प्रसाईं २० लाख रुपैयाँसम्म ऋण भएकाले तिर्न नपर्ने बताउँदै आएका थिए । उनले सरकारसँग पनि ऋण मिनाहाको माग गरिरहेका थिए । कालोमोसो लगाउने अभियान शुरु भयो । सर्वसाधारणले पनि प्रसाईंले केही गर्छ भनेर उनको पछाडि लागे । पहिले जनतालाई प्रसाईंले आफ्नो पक्षमा ल्याए । पछि त एकाएक राजाको पक्षमा बोल्न थाले । उनी पैसामा बिकेको सर्वसाधारणहरूको अनुमान छ । अन्य दलले झैं प्रसाईंले पनि सर्वसाधारणलाई धोका दिए ।