देश

डडेल्धुरा पुगेका ओलीले देउवालाई गरे फोन

काठमाडौं । झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी लोकमार्ग संकल्प यात्राका क्रममा सुदूरपश्चिममा रहेका एमाले अध्यक्ष केपी ओली यतिबेला डडेल्धुरा पुगेका छन् । संकल्प यात्रा उद्‌घाटनसँगै उनी डडेल्धुरा पुगेका छन् ।

डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । डडेल्धुरा पुगेपछि उनले कांग्रेस सभापति देउवालाई फोन गरेका छन् । शुक्रबार बिहान उनले देउवालाई फोन गरेको भिडियो फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

संवादका क्रममा देउवाले डडेल्धुरामा स्वागत छ भनेका छन् । ‘मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी,’ ओलीले लेखेका छन्, ‘सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ। त्यसैले यसलाई पोस्ट गरेको छु ।’

ओलीले देउवालाई गरेको फोनलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ । ओलीको कदमको धेरैले प्रशंसा गरेका छन् । यसलाई नेपाली संस्कारको रुपमा धेरैले सकारात्मक टिप्पणी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *