काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको छ ।
स्वीकृत कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता हुने कार्यक्रम छ । राजनीतिक दल दर्ता भएपछि पुस १ गते निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वीकृत कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
माघ ११ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य सञ्चालन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।आगामी फागुन २० गते राष्ट्रियसभाका २० सदस्यको कार्यकाल पूरा हुँदैछ । त्यसका लागि एक महिनाअघि नै निर्वाचन भइसक्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।