देश

वीर अस्पतालको कार्यकारी निर्देशक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई मन्त्रालयमा हाजिर हुन पत्र पठाएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका हुन् ।

निर्देशक पौडेलले आफूलाई मन्त्रालयमा हाजिर हुन आउनु भन्दै पत्र आएको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको बताए ।

एमालेको राजनीतिमा समेत क्रियाशील भएकाले पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी परेको थियो । सोही कारण पौडेललाई मन्त्रालयमा हाजिर हुने गरी तानिएको बुझिएको छ । पौडेल वीर अस्पतालका विभिन्न अनियमिततामा मुछिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *