राजनीति

के प्रधानमन्त्री मन्त्रिपरिषद् फेरबदलको तयारी गर्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्किँदै छन् । विश्व जलवायु सम्मेलनमा सहभागी भएर उनी आज स्वदेश फर्किन लागेका हुन् । युएईबाट फर्केलगत्तै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड जुट्ने चर्चा सुरु भएको छ । माओवादीअध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियु्क्त भएको आगामी पुस १० गते एक वर्ष पुग्दैछ ।

उनी फर्किएलगत्तै गठबन्धन दलहरुमा औपचारिक छलफल हुने दाबी नेताहरुले गरेका छन् । यसबारेमा उनले आफ्नो पार्टीभित्र अनौपचारिक छलफलसमेत गरिसकेको बताइन्छ । गठबन्धन दलबीच भएको पूर्वसहमतिअनुसार प्रचण्डले मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको तयारी गरेका हुन् ।

त्यसका लागि अहिले गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादीले पदाधिकारी र केन्द्रीय समिति बैठक नै बोलाएर छलफल गर्ने तयारी गरेको माओवादी नेताहरु बताउँछन् ।

गठबन्धनको मुख्य दल नेपाली कांग्रेससमेत मन्त्री परिवर्तन गर्ने पक्षमा छ । कांग्रेसले मन्त्रीहरूलाई बोलाएर समीक्षा गर्ने निर्णयसमेत गरिसकेको छ । तर तत्काल कांग्रेसले मन्त्री फेर्ने इच्छा देखाएको छैन । पुस तेस्रो साता महासमिति बैठक र माघ ११ गते राष्ट्रियसभाको चुनावपछि मात्रै मन्त्रिपरिषद् फेरबदल हुनसक्ने कांग्रेस नेताहरूको भनाइ छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी र एकीकृत समाजवादीसमेत अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने तयारीमा छन् । मन्त्रीहरुको कार्यसम्पादन कमजोर भएको भन्दै आलोचना हुन थालेपछि पनि प्रधानमन्त्रीले मन्त्री फेरबदलको चाहना राखेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराँतीलगायतको कार्यशैली र कार्यसम्पादनप्रति प्रधानमन्त्री मात्र नभएर दलका शीर्ष नेताहरु असन्तुष्ट छन् । एमाले जसरी भए पनि प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्न लागिपरेको छ । अध्यक्ष केपी ओलीले त सार्वजनिक रूपमै यो बताइसकेका छन् । तर तत्काल एमालेको प्रयास सफल हुने देखिएको छैन ।

प्रधानमन्त्री प्रचण्ड अहिलेकै गठबन्धन कायम गर्ने मनस्थितिमा देखिएका छन् । उनले रास्वपालाई सरकारमा आउन आग्रह गरिसकेका छन् । तर रास्वपाले निर्णय गरिसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *