राजनीति

एआईबाट बनाइएका तस्बिरले ०८४ को निर्वाचनमा स्थापित नेतालाई दिनेछ चुनौती

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) बाट निर्मित थरीथरीका तस्बिर देखेर प्रयोगकर्ता रमाएका छन् । कहिले बिहानैदेखि चियाका सौखिनले हालेका तस्बिर यत्रतत्र देखिएका हुन्छन् त कहिले मःमका पारखीलाई लोभ्याउने मःमका रमाइलो तस्बिर भाइरल बनिरहेका हुन्छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिद्वारा मानव संज्ञानात्मक प्रक्रियाहरूको नक्कल हो । यसले प्रक्रियाहरूलाई स्वचालित बनाउँछ र आईटी प्रणालीहरूमा संज्ञानात्मक कम्प्युटिङ (मानव विचार प्रक्रियाहरूको सिमुलेशन) लागू गरेर मानव बुद्धिको अनुकरण गर्ने लक्ष्य राख्छ ।

एआईलाई ढाँचाहरू पत्ता लगाउन, नयाँ अन्तर्दृष्टिहरू पत्ता लगाउन, कच्चा डेटाबाट अर्थ निकाल्न, भविष्यवाणी गर्न र मानिसहरू, मेसिनहरू र भौतिक वातावरणहरूसँग अन्तरक्रिया गर्न प्रयोग गर्न सकिन्छ । एआईले ज्ञान, तर्क, समस्या समाधान, धारणा, सिकाइ, योजना, र स्वचालन प्रक्रियाहरूको लागि प्रोग्रामिङ समावेश गर्दछ । एआईका मुख्य भागहरू ज्ञान इन्जिनियरिङ, मेसिन लर्निङ, मेसिन धारणा र रोबोटिक्स हुन् ।

पछिल्लो समय विभिन्न देशमा एआईबाट निर्मित तस्बिर प्रयोगमा आउने गरेको छ । त्यति मात्र होइन, एआईको प्रयोग गरेर फिल्म, टेलिफिल्म वा रोचक विषयवस्तुमा स्क्रिप्ट लेख्न थालिएको छ । एआईकै प्रयोगबाट अहिले विभिन्न देशमा समाचार भन्ने, अनलाइनमा समाचार एंकरिङ (पढ्ने) व्यवस्था पनि मिलाइएको छ ।

यसबाट धेरै जनशक्तिको आवश्यकता नपर्ने, आफूले चाहेको विषयवस्तु दिएर जुनसुकै बेला तस्बिर पाउन सकिन्छ । अहिले सामाजिक सञ्जालमा जे जस्ता तस्बिर सार्वजनिक वा भाइरल बनेका छन्, त्यसबाट आगामी दिनमा मान्छेले निकै चुनौती बेहोर्नुपर्ने अनुमानसमेत गरिएको छ ।

जसरी चीनबाट निर्मित टिकटक छोटो समयमै लोकप्रिय भई सामाजिक सञ्जालमध्ये बदनाम कमाएको थियो, एआईबाट निर्माण गरिने तस्बिरले भविष्यमा राज्य, राजनीतिक दल र तिनका नेताका लागि खतरा सावित हुने निश्चित छ । जसरी टिकटक पुराना दल र तिनका नेता खुइल्याउने उपयुक्त माध्यम बनेको थियो, एआईबाट निर्मित तस्बिर पनि त्यसरी नै दुरुपयोग हुने खतरा छ । समाजमा विकृति र विसंगति भित्र्याएको भन्दै सरकारले नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर पनि पूरै बन्द भइसकेको छैन ।

दुई दिनअघि सामाजिक सञ्जालमा एउटा एआईबाट तयार पारिएको तस्बिर भाइरल बनिरहेको छ । जसमा माला लगाएका एक नेतालाई जनताले समात समात भन्दै ‘मिसन ०८४ को हालत’ क्याप्सन दिइएको छ । आफूलाई मन नपर्ने दल र तिनका नेता वा सांसद मन्त्रीलाई यसरी नै तस्बिर बनाएर सामाजिक सञ्जालमा हालिदिने हो भने त्यो नेताको जमानतसमेत जफत हुने देखिन्छ । किनभने सामाजिक सञ्जाल भनेको भीड मन पराउने र गरीखान नदिने जमातले टाइम बिताउने थलो हो ।

यसले आगामी निर्वाचनमा दल र नेताहरूलाई जसले जतिबेला पनि खुइल्याउन सक्ने, उसको चरित्रहत्या गर्ने, मानमर्दन गर्ने, समाजमा बदनाम गराउन सक्ने सम्भावना अत्यधिक छ । यसै पनि अहिले मिसन ८४ भनेर रास्वपा, एमालेलगायतका दल र तिनका नेताहरू चुनावी अभियानमा लागिसकेका छन् । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायतका दल सरकारमा छन् ।

ती दल र तिनका नेतासँग रुष्ट र विचार नमिल्ने स्वदेश वा विदेश जहाँ बसेका मानिसले पनि उनीहरूको सामाजिक मानमर्यादामा आँच आउने गरी तस्बिर बनाउने र त्यसलाई सामाजिक सञ्जालमा हालेर दुरुपयोग गर्ने खतरा अत्यधिक रहेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *