राजनीति

विप्लव, विश्वकर्मालगायत पाँचजनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत सो पार्टीका पाँच नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले सोमबार नेकपाका शीर्ष नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी हो ।

विप्लवसहित उनको पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारी अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सूचनामा छ। उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो।

२०७९ साउनमा पनि महासचिव विप्लवलगायत आधा दर्जन नेताहरूविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको थियो। अदालतमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ विस्फोट गराई कर्तव्य ज्यान र राज्यविरुद्धको कसुरमा मुद्दा चलेको थियो। हिंसात्मक गतिविधि गर्न थालेपछि २०७५ फागुन २८ गते सरकारले विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र विप्लवको पार्टीबीच २०७७ फागुनमा सरकारले लगाएको मुद्दा खारेज गर्ने सहमति भएको थियो। त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मुद्दा खारेज गर्ने निर्णय मन्त्रिपरिषद्‍बाटै गरेको थियो। तर‚ सरकारको निर्णयको पत्र अदालतमा नपुगेको भन्दै अदालतले सोमबार ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। विप्लव अहिले माओवादी, जसपा, एकीकृत समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाका नेतासमेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *