अर्थ

एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा बाबुरामको चासो, नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्ने दाबी

काठमाडौं । एनसेल आजिआटा लिमिटेड (एनसेल) ले ८० प्रतिशत सेयर कौडीको भाउमा बेचेपछि यसले नेपालमा ठूलो तरंग सिर्जना गरेको छ । आजिआटाले जारी गरेको विज्ञप्तिअनुसार एनसेलमा उसको करिब ८० प्रतिशत शेयर ‘स्पेक्ट्रलाइट यूके लिमिटेड’लाई बेचिएको छ । जुन गत असोज ९ गते (२०२३ सेप्टेम्बर २६) मात्र ग्रेटर लन्डनमा दर्ता कार्यालयमा स्थापना गरिएको हो।

दुई महिनाअघि जन्माइएको कम्पनीले पेस गरेको विवरणअनुसार एक सक्रिय निर्देशक (सतिशलाल आचार्य) र एक सक्रिय सचिव छन्। कम्पनी एनसेलमा रहेको आजिआटा स्वामित्वको ८० प्रतिशत सेयर कागजी रूपमा हस्तान्तरण गर्ने प्रयोजनका लागि दर्ता भएको देखिन्छ। आजिआटाले आफ्नो सेयर पाँच करोड डलर (६ अर्ब ६६ करोड रुपैयाँ) मा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको जनाएको छ।

आजिआटाले सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग एक अर्ब ३६ करोड डलर (तत्कालीन विनिमय दरअनुसार एक खर्ब ४३ अर्ब रुपैयाँ) मा किनेको थियो। त्यसको साढे सात वर्षपछि परल मूल्यको पाँच प्रतिशतभन्दा पनि कम मूल्यमा सेयर बिक्री गरी आजिआटा नेपालबाट बाहिरिन लागेको देखिन्छ। सन् २०२९ सम्म एनसेलबाट पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको विज्ञप्तिमा भनिएको छ।

जबकि आगामी सात वर्षमा एनसेल नेपाल सरकारको पूर्ण स्वामित्वमा आउँदै थियो । त्यसअघि नै आजिआटाले सेयर बिक्री गरेर बाहिरिनुलाई अर्थपूर्ण मानिएको छ । साथै, यसले विदेशी लगानीलाई निरुत्साहित गर्ने अर्थशास्त्रीहरूको दाबी छ ।

सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्न लागिरहेका बेला कौडीको मूल्यमा सेयर बिक्री भएपछि यो विषयमा संसदीय समितिले चासो देखाएको छ । एनसेलको सेयर बिक्रीमा सार्वजनिक लेखा समितिको प्रवेश भएको छ । सर्वोच्च अदालतले आइतबार नै आजिआटा र खरिदकर्तालाई पत्र पठाएको छ ।

एनसेल बिक्रीमा ठूलै चलखेल भएको हुनसक्ने आशंकासमेत गरिएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एनसेलको सेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गरेको विचार सार्वजनिक गरेका छन् । उनले यसबाट नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्ने बताएका छन् ।
‘एनसेलको सेयर खरिदबिक्री प्रकरणले प्रथमदृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ र नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ।

१. यदि सॉच्चै नै कुनै विदेशी कम्पनी आफ्नो सेयर लगानी वास्तविक मूल्यभन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहॉ भित्रिन्छ ? २. त्यसो हैन र पुॅजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ? ३. अरबौं रकम बराबरका यस्ता हर्कत देशका ऐननियम विपरीत हाकाहाकी कसरी हुनसक्छन् ? यसमा राज्यका विभिन्न अंगमा हालीमुहाली गर्नेहरूको संलग्नता नभइरहन सक्छ ?’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट