राजनीति

एकीकृत समाजवादीको महाधिवेशन चैतमा, झलनाथको असन्तुष्टि

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चैतमा पार्टी महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

पार्टी कार्यालय शान्तिनगरमा जारी सचिवालय बैठकमा नेपालले पार्टीको महाधिवेशन चैतमा गर्नुपर्ने प्रस्ताव गरेका हुन् । यसअघि एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने तय भएको थियो ।

दुई वर्षअघि एमालेबाट अलग भएको एकीकृत समाजवादीभित्र अहिले नेताहरुको उमेर हदलाई लिएर अध्यक्ष नेपाल र नेता झलनाथ खनालबीच विवाद छ ।

खासगरी पार्टी विधानमा नेताहरुको उमेर हद ७० वर्ष तोकिएपछि दुई नेताबीच मतान्तर बढेको हो । नेपाल र खनाल दुवै ७० वर्षनजिक छन् । नेपालले आफू सुरक्षित हुनकै लागि चैतमा महाधिवेशन गर्ने प्रस्ताव गरेको बताइएको छ ।

त्यसो गर्दा अर्का नेता खनाल ७० वर्ष उमेर हदका कारण प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन् । खनालले राष्ट्रियसभाको निर्वाचनलगत्तै माघभित्रै महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष नेपालले माघमा राष्ट्रिय निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले महाधिवेशनसम्बन्धी काम गर्न नसकिने बताएका छन् । निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको २० सदस्यको निर्वाचनको मिति तोकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *