राजनीति

प्रचण्ड दुई कि तीन वर्ष प्रधानमन्त्री, के थियो सहमति ?

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ । एक वर्षअघि पुस १० गते प्रचण्ड एमालेसँगको गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए । तर दुई महिना पनि एमाले र माओवादीबीच सहकार्य हुन सकेन । त्यसबेला प्रधानमन्त्रीको कार्यकालका विषयमा कुनै सहमति भने भएको थिएन । प्रचण्डलाई कांग्रेस, एकीकृत समाजवादी र जसपाको गठबन्धनबाट बाहिर ल्याउन एमाले अध्यक्ष केपी ओलीले तुरुन्त प्रधानमन्त्रीमा सहमति दिएका थिए ।

तर फागुन मध्यतिर प्रचण्ड पूर्ववत् गठबन्धनमै फर्के । अर्थात् राष्ट्रपति निर्वाचनले प्रचण्ड र ओलीबीच दरार ल्याइदियो । एमालेले फागुन १५ गते नै सरकार छाड्यो । फागुन २५ गते भएको निर्वाचनबाट राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भए । उनले एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे । राष्ट्रपतिको निर्वाचन सकिएको २० दिनपछि नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भयो । प्रचण्ड फेरि पुरानै गठबन्धनमा आएपछि त्यसबेला सरकारको नेतृत्वका विषयमा लिखित सहमति नै भएको रहस्य बाहिरियो ।

प्रचण्डले दुई वर्ष, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई वर्ष र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष सरकार चलाउने लिखित सहमति भएको सार्वजनिक भइसकेको छ । तर अहिले आएर माओवादीले प्रचण्ड तीन वर्षसम्म प्रधानमन्त्रीमै रहने भनेर बखेडा झिकेको छ । माओवादीका महासचिव देव गुरुङले सरकारको कार्यकालका विषयमा विवादित अभिव्यक्ति दिएका हुन् ।

गुरुङले प्रचण्ड नेतृत्वमा बनेको सरकार आगामी तीन वर्षसम्म कसैले चाहँदैमा ढाल्न नसक्ने दाबी गरेका छन् । सोमबार बिहान रुकुम पश्चिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रचण्ड नेतृत्वको सरकार तीन वर्ष चल्ने र हालको सत्ता गठबन्धन आगामी ५ वर्षसम्मै जाने जिकिरसमेत गरे । ‘अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् ।

सरकार ढाल्ने षड्यन्त्र कसैको सफल हुन सक्दैन । सरकारले पनि जनमुखी काम गर्दै आएको छ’, उनले भने ।
गुरुङले सबै कम्युनिस्ट शक्तिहरू एक हुनुको विकल्प नभएकोसमेत बताए । उनले छिट्टै माओवादी घटकहरूबीच एकता हुने विश्वास व्यक्त गरे । ‘पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादीको नेतृत्वमै पार्टी एकता हुन्छ’, उनले भने ।

गुरुङले जानीबुझीकनै प्रधानमन्त्री प्रचण्डको कार्यकालको समय बढाएका हुन् कि कस्तो तरंग आउँछ भनेर तलाउमा ढुंगा हानेका हुन् ? बुझ्न सकिएको छैन । तर सरकारको कामदेखि कोही पनि सन्तुष्ट हुन सकेको छैन । प्रचण्ड सरकारका सबै मन्त्री असफल भइसकेका छन् । उनीहरूले जनतालाई डेलिभरी दिनसकेका छैनन् । प्रधानमन्त्री आफैै एक वर्षमा एक महिनाभन्दा बढी विदेशमै बसेका छन् । मन्त्रीहरूको विदेश यात्रा रोकिएको छैन । आर्थिक मन्दीका बेला सरकारले मितव्ययिता अपनाउन सकेको देखिएको छैन ।

यस्तो बेला माओवादी महासचिव गुरुङको अभिव्यक्तिले संशय पैदा गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा अर्को वर्ष पुसमा प्रधानमन्त्री प्रचण्डले सहज रूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा विश्वस्त छन् । त्यही भएर देउवाले यो सरकारलाई जस्तोसुकै कठिन अवस्थामा पनि फुल्ली साथ र सहयोग गरिरहेका छन् । तर देव गुरुङको अभिव्यक्तिले कम्युनिस्टहरूले जुनसुकै बेला जस्तो पनि धोका दिन सक्छन् भन्ने संकेत दिएको छ । उनको अभिव्यक्तिले सत्तारुढ कांग्रेसका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *