देश

ज्ञानेन्द्र बोक्दाबोक्दै दुर्गा प्रसाई थाके, अब राप्रपाले काँध थाप्ने

काठमाडौं । दुई साताअघि काठमाडौंमा प्रदर्शन गरेका विवादास्पद निजी मेडिकल व्यवसायी दुर्गा प्रसाईं मंसिरभित्र जनसरकार गठन गरेर फागुन १ गते व्यवस्था परिवर्तन गर्छु भनेर लागिपरेका छन् । उनले थालेको प्रदर्शन मंसिर ७ पछि शिथिल भइसकेको छ । दुई चार दिन सडकमा कराउँदा कराउँदै प्रसाईका समर्थक तितरवितर भएका छन् । उनले हाकाहाकी राजसंस्था ब्युँताउने र नेपाललाई हिन्दु राज्य घोषणा गर्ने बताएका छन् ।

मंसिर ७ मा प्रसाईका समर्थक सडकमा उल्लेऋय देखेपछि राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीलगायतले अब देशमा राजतन्त्र ल्याउन कसैले नसक्ने बताएका थिए । तर अहिले यी तीनैजना गुमनाम भएका छन् ।
प्रसाईको आन्दोलनको प्रभावकै कारण राष्ट्रिय प्रजातन्त्र पार्टीले तिहारपछि सुरु गर्ने भनेको आन्दोलनको खाका तय गर्न समिति नै गठन गरेको छ । पुस पहिलो साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकले त्यसको मिति घोषणा गर्ने बताइएको छ ।

पुस २७ को पृथ्वी जयन्ती आसपास पारेर राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि एकपटक काँध थाप्न आन्दोलन गर्ने तयारी गरेको छ । तर, राजसंस्था फिर्ता ल्याउँछौँ भन्ने शक्तिहरू आफैँमा मिल्न सकेका छैनन् । चिराचिरामा विभाजित राप्रपा, असंगठित व्यक्तिहरू र एजेन्डाविनै सडकमा ओर्लिएकाहरूले नेपालमा राजसंस्था ब्युँताउन त्यति सजिलो छैन । तर राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाई, केशरबहादुर विष्टलगायत किन मरिसकेको राजतन्त्र बोक्न लागिपरेका छन् भन्ने बुझ्न जनताले सकेका छैनन् ।

दुई दुईपटक राजगद्दीमा आसीन भएर पनि त्यसलाई जोगाउन नसकेका ज्ञानेन्द्र शाह नेपालीका पालनहार नै हुन् त ? भन्ने प्रश्न पनि उब्जेको छ । तर पनि पूर्वराजा शाह यसपटक आए आँप गए झटारो शैलीमा राप्रपालाई मोहरा बनाएर असन्तुष्ट जनताको मनोभावनामा खेल्न खोजेको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट