काठमाडौं । एमाले अहिले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी संकल्प यात्रामा लागेको छ । एमाले पदयात्रा बैतडीबाट मंगलबार जाजरकोट आइपुगेको छ । यसक्रममा एमालेले एक हजार आठ सय किलोमिटर यात्रा तय गर्नेछ । ठाउँठाउँमा सम्भव भएसम्म आमसभा, नभए घरघर र आयोजनाको निरीक्षण गर्दै एमाले अध्यक्ष केपी ओलीले सबैको ध्यान आफूतिर खिचिरहेका छन् ।
एमालेको संकल्प यात्रामा पूरै केन्द्रीय समिति नै सहभागी छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, केन्द्रीय सदस्यहरू पनि छन् । तर ओलीबाहेक अरुको चर्चा शून्य छ । कसले कहाँ के भन्यो कुनै चासो छैन । ओली अगाडि अगाडि पदाधिकारी र केन्द्रीय सदस्य पछाडि पछाडि । एमाले महासचिव शंकर पोखरेल त अहिले पदयात्राका क्रममा एमाले नेताहरू चढेको गाढीको भिडियो खिचेर टिकटकमा हाल्नै व्यस्त देखिएका छन् । जुन जिल्लामा पुग्यो, त्यहाँ फोटो र भिडियो खिच्यो, अनि सामाजिक सञ्जालमा हाल्नेबाहेक एमालेका अन्य नेताहरूको कुनै उपादेयता देखिएको छैन ।
पोखरेलले टिकटकमा हालेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । एक मिनेट लामो भिडियोमा एमाले नेताहरू करोडभन्दा बढी मूल्य पर्ने गाडी सवार भएको देख्न सकिन्छ । यसले चर्चित हिन्दी फिल्म ‘सिंघम’ का भिलेन जयकान्त सिक्रे उर्फ प्रकाश राजलाई समेत माथ गरेको धेरैले टिप्पणी गरेका छन् । जयकान्त सिक्रेको सवारीमा सयौं गाडीको लस्कर लाग्थ्यो । अहिले ओलीको संकल्प यात्रामा पनि त्यस्तै दृश्य देखिएको छ ।
नेताहरू भ्रष्ट भए, करोडौं, अर्बौं कमाएका छन्, ठूला महलमा बस्छन्, छोराछोरी विदेश पठाएका छन्, विभिन्न माध्यमबाट अर्बौं रुपैयाँ विदेशमा लगेर थुपारेका छन् भन्ने भाष्य निर्माण भइरहेको बेला एमालेजनहरू करोडभन्दा माथिका दर्जनौं गाडी ताँती लगाएर मध्यपहाडी लोकमार्गमा गुडिरहेका छन् । यही क्रममा भएका सभाहरूमा जनता जम्मा भएका भिडियोहरू पनि आएका छन् । भिडियो सेयर गरेर जनता एमालेकै पक्षमा रहेको भन्ने पनि होडबाजी चलिरहेको छ । एमालेको संकल्प यात्राले नेताहरू सुकिलामुकिला नै हुनुपर्छ, करोड करोडको गाडी चढ्ने हैसियत हुनुपर्छ, जनता दुःखमा डुबे पनि नेताहरूले मस्तीको जीवन बिताएकै रहेछन् भन्ने कुरा जनताले थाहा पाएका छन् ।
यसले मिसन ८४ भनेर हिँडेका केपी ओलीको भोट घटाउँछ कि बढाउँछ यसै भन्न सकिन्न, तर एमाले अब एजेन्डाविहीन भएको भन्ने जनताले थाहा पाएका छन् । त्यसमाथि पनि एमालेले ओलीको स्वागतमा स–साना स्कुले बालबालिकालाई सडकमा उभ्याएको देखिएको छ । जुन भिडियोलाई लिएर एमालेको चर्को आलोचना भएको छ । आफ्नो अध्यक्षको लोकप्रियता बढेको देखाउन एमाले पंक्तिले जायज नाजायज जस्तोसुकै हर्कत गर्न पछि नपरेको भन्दै आलोचना भइरहेको छ ।