राजनीति

कांग्रेस शीर्ष नेतृत्व जिल्ला र प्रदेश दौडाहामा, पार्टी चलायमान बन्दै

काठमाडौं । यतिबेला नेपाली कांग्रेसको शीर्ष नेतृत्व जिल्ला र प्रदेशमै व्यस्त देखिएको छ । नवलपुरबाट सुरु भएको कांग्रेस नेताहरूको देश दौडाहा पुस दोस्रो सातासम्म कायम रहने देखिएको छ ।कांग्रेसले पुस १६ र १७ गते महासमिति बैठक गर्दैछ । महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिणत गर्ने कांग्रेसको तयारी छ ।

त्यसका लागि कांग्रेसले जनस्तर र ग्रासरुटका नेता कार्यकर्ताबाट के कस्ता सुझाव प्राप्त हुनेछ त्यसलाई समेट्ने भएको छ । कांग्रेसले महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिएको छ । दुवै महामन्त्री अहिले प्रतिवेदन लेख्न छाडेर जिल्ला र प्रदेशमा केन्द्रित भएका छन् ।

कांग्रेस सभापतिसहित शीर्ष नेताहरू मंगलबार ओखलढुंगा पुगेका छन् । जिल्ला सम्मेलनका लागि साभापति शेबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापा ओखलढुंगा पुगेका हुन् । जिल्ला सम्मेलनसँगै जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन उदघाटनको कार्यक्रम छ । नेताहरू हेलिकोप्टरमार्फत ओखलढुंगा गएका हुन् । उनीहरू पार्टी कार्यालय र जिल्ला सम्मेलन उद्घाटनपछि काठमाडौं फर्कने कार्यक्रम छ ।

यसअघि कांग्रेस शीर्ष नेताहरू नवपरासीको जिल्ला सम्मेलन र लुम्बिनी प्रदेश सम्मेलनमा सहभागी भएका थिए । सम्मेलनमा सभापति देउवा, डा. कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, दीपक गिरीलगायतका नेताले सम्बोधन गरेका थिए । सम्मेलनमा हजारौं नेता कार्यकर्ताको सहभागिता थियो ।

कांग्रेसले लुम्बिनीबाट प्रदेश सम्मेलनको सुरुवात गरेको हो । अब ६ प्रदेशको सम्मेलन हुँदैछ । संघीयतापछि कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्दैछ । कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुने र चार सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते हुने भएको छ । कर्णाली र सुदूरपश्चिमको अधिवेशन भने टुंगो लागेको छैन ।

कांग्रेस मधेश प्रदेश सम्मेलन अगामी ५ र ६ पुसमा गरिने भएको छ । कांग्रेस मधेश प्रदेशका सभापति तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ । प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउन आवश्यकताअनुसार उपसमिति गठन गरिने बैठकले निर्णय गरेको छ ।

वडादेखि जिल्ला तहसम्म सम्मेलन गर्न बाँकी रहेका तहहरूलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको कांग्रेस मधेश प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए । सम्मेलनमा मधेश प्रदेशको राजनीतिक, सांगठनिक, आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरू गठन गरिने निर्णय भएको उनको भनाइ छ ।

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले पहिलो सम्मेलन तयारीका लागि प्रदेश सभापति इन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको सम्मेलन आयोजक मूल आयोजक समिति गठन गरी विभिन्न समिति गठन गरिएको जानकारी दिए ।

राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकमा उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा उपसभापति मोहन बस्नेत, सांगठनिक प्रस्ताव तयारी उपसमिति संयोजकमा महामन्त्री कन्चनचन्द्र वादे तथा सहयोजकमा सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रमको कार्यतालिका (क्यालेण्डर) तयारी उपसमिति संयोजकमा महामन्त्री राजु श्रेष्ठ तथा सहसंयोजकमा सहमहामन्त्री जीवन डंगोललाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

सबै प्रदेशको सम्मेलनमा पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतका नेता सहभागी हुनेछन् । प्रदेश सम्मेलनसँगै कांग्रेसको जिल्ला सम्मेलन पनि भइरहेको छ । मंगलबार पार्टी सभापति देउवा, महामन्त्री थापा, नेता कोइराला ओखलढुंगामा हुँदा महामन्त्री विश्वप्रकाश शर्मा बाजुरामा थिए । बाजुरामा आयोजित विशाल सभालाई उनले सम्बोधन गरे ।

एमालेले मध्यपहाडी संकल्प यात्रा र माओवादीले पार्टी रुपान्तरण अभियान अघि बढाएर जनतामाझ पुगिरहेका बेला कांग्रेसको शीर्ष नेतृत्व नै अहिले जिल्ला र प्रदेशमा पुगिरहेको छ । यसले पार्टी एक किसिमले चलायमान भएको अनुभव नेता कार्यकर्ताले गरेका छन् । कांग्रेसको गत साउन पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले क्यालेन्डर नै प्रकाशित गरेर विभिन्न कार्यक्रम राखेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *