अर्थ

राज्यलाई ठग्न एनसेल ६ अर्बमा बिक्री भएको खुलासा, भित्री खेल अर्कै

काठमाडौं । नेपाल सरकारलाई ठग्न मलेसियाको आजियटा समूहले एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बेचेको खुलासा भएको छ । धेरै मूल्यमा खरिद गर्दा कर पनि धेरै तिर्नुपर्ने भएपछि आजियाटाले सिंगापुरमा बस्दै आएका सतिशलाल आचार्यको कम्पनीलाई पहिले किनेको मूल्यभन्दा ९० प्रतिशत कम मूल्यमा सेयर बेचेको पाइएको छ ।

आजियटाले मंसिर १५ मा एनसेलमा ८० प्रतिशत स्वामित्व भएको ब्रिटिस भर्जिन आयरल्यान्डमा दर्ता रहेको रेनल्ड होल्डिङको सेयर सिंगापुरमा व्यवसाय गर्दै आएका आचार्यको बेलायतमा दर्ता कम्पनी स्पेक्ट्रलाइटलाई ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्ने जानकारी दिएपछि यसले ठूलो चर्चा पाएको छ ।

स्पेक्ट्रलाइटले आगामी ६ महिनाभित्र ५० लाख अमेरिकी डलर र ४८ महिनाभित्र बाँकी रहेको चार करोड ५० लाख डलर भुक्तानी गर्ने आजियटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उसले नेपालबाट बाहिरिने निर्णय गर्नुमा नेपालको बिग्रँदो व्यावसायिक वातावरण, अनुमानयोग्य नभएको कर प्रणाली, नीतिगत अस्थिरता जस्ता कारण रहेको आरोप लगाएको छ । आजियाटाले भित्री रूपमा ६६ अर्बमा एनसेल बेचेको तथ्य बाहिरिएको छ । बुधबार प्रकाशित कान्तिपुर दैनिकले ६६ अर्बमा एनेसलको सेयर खरिदबिक्री भएको समाचार छापेको छ ।

एनसेलले २०६१ भदौ १६ मा अनुमति पाएको थियो । यसको २५ वर्ष २०८६ भदौ १६ गते पुग्दै छ । ऐनको दफा ३३ मा ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्र अवधि समाप्त भएपछि सरकारको स्वामित्वमा आउने,’ व्यवस्था छ । अहिलेको अवस्थामा यो कम्पनी ६ वर्षमा नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

विदेशी कम्पनीको सेयर ५० प्रतिशतभन्दा कम देखाएर एनसेललाई सरकारको हुनबाट रोक्ने बाटो खोल्न खोजिएको जानकारहरूको भनाइ छ । एक जानकार भन्छन्, ‘अबका दिनमा सतीशलालले आफ्नो विदेशी कम्पनीको हिस्सा पचास प्रतिशतभन्दा कममा सीमित गर्न श्रीमतीका नाममा रहेको सुनिभेरा क्यापिटल वा अन्य कुनै नेपालीको नाममा सार्न वा सेयर बजारमा बेच्न पनि सक्छन् ।

यसले कम्पनी सरकारको हुन बाटोमा रोक्ने दाउपेच देखिन्छ, त्यसो भएमा देशको सम्पत्तिका रूपमा रहेको फ्रिक्वेन्सी प्रयोग गरेको कम्पनी २५ वर्षपछि सरकारको हुने बाटो रोक्ने यो खेल हो । तर सत्तारुढ गठबन्धनको सरकारले एनसेल प्रकरणमा गम्भीर छानबिन गर्ने जनाइसकेको छ । यदि कर कम तिर्नकै लागि थोरै रकम देखाइएको पुष्टि भएमा कानुनी कारबाही हुने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *