काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा अहिले एमालेका गणेशप्रसाद तिमिल्सिना छन् । उनी एमाले अध्यक्ष केपी ओली निकट नेता हुन् । तिमिल्सिनाको पदावधि फागुन २० मा सकिँदैछ । त्यसैले अब राष्ट्रिय सभाको अध्यक्ष को बन्ने भन्ने चर्चा सुरु भएको छ ।
तिमिल्सिना अध्यक्ष रहँदासम्म संवैधानिक परिषदमा एमालेको बहुमत छ । त्यसकारण लामो समयदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक छल्दै आएका छन् । परिषदमा विपक्षी दलको नेता ओली र सभामुख देवराज घिमिरे एक ठाउँमा छन् । उपसभामुख इन्दिरा राना पनि ओलीकै गृहजिल्ला झापाकी हुन् ।
राना रास्वपाबाट उपसभामुख बनेकी हुन् । यदि राष्ट्रिय सभाको अध्यक्षमा सत्तारुढ गठबन्धनका नेता बनेमा प्रचण्ड बहुमतमा हुनेछन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तठस्थ छन् । संवैधानिक परिषद्ले निर्वाचन आयोग, समावेशी आयोग, महालेखा परीक्षकलगायतका पदमा नियुक्ति गर्नुपर्नेछ । ती पद लामो समयदेखि रिक्त छन् ।
राष्ट्रियसभाको अध्यक्षमा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । तर सत्तारुढ गठबन्धनमा सहमति भइसकेको छैन । नेपाली कांग्रेसले अध्यक्षमा दाबी गरेको छ । सभामुख र प्रधानमन्त्री नभएकाले कांग्रेसको दाबी बलियो छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले अबको राष्ट्रियसभाको चुनावमा कतिवटा सिट पाउँछ र को आउँछ ? भन्नेले पनि अबको अध्यक्षको अनुमान गर्न सकिने पनि बताइन्छ । एकीकृत समाजवादीमा सिनियर नेता वेदुराम भुसाल मानिन्छन् । सो पार्टीले पाएमा माधव नेपाल वेदुरामलाई बनाउँछन् ।
उनी अहिले कृषि मन्त्री छन् । कृषि क्षेत्रमा कुनै उल्लेखनीय काम गर्न नसकेका भुसाल अब कृषिमन्त्रीबाट फिर्ता भएर राष्ट्रियसभाको अध्यक्ष हुने चर्चा एकीकृत समाजवादीमा हुन थालेको छ । उनलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने हो भने दोहोरो सुविधा र अवसर भनेर प्रश्न उठ्ने सम्भावना छ ।
भुसाल महासचिव घनश्याम भुसाललाई छोडेर कृषिमन्त्री हुन गएका थिए । राष्ट्रिय सभाको निर्वाचनमा एकीकृत समाजवादीले तीन सिट पाउने सहमति छ । तर उसले क–कसलाई उठाउने भन्ने तय भइसकेको छैन ।