काठमाडौं । एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे संसद्का दुई समितिले अध्ययन थालेका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार यसबारे छलफल गर्न बैठक डाकेका छन्।
सार्वजनिक लेखा समितिले आइतबार सम्बन्धित निकायलाई कागजात उपलब्ध गराउन पत्र पठाएको थियो। मागअनुसार कागजात आए तिनैमा आधारित भएर छलफल गर्ने र नआए समितिका सदस्यबीच छलफल गरी कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्ने जानकारी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले दिएका छन् ।
अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ । अर्थ समितिले पहिलो बैठकमा प्राधिकरणका अध्यक्ष खनालसहितलाई र दोस्रो बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बोलाएको हो।
प्राधिकरणका अध्यक्ष खनालले एनसेलको सेयर खरिद प्रकरण शंकास्पद देखिएकाले छानबिन हुने बताएका छन् । गभर्नर अधिकारीलाई नेपाल सरकारलाई जानकारी नै नदिई आजियटाले कसरी पैसा लैजान्छ भन्ने विषयमा अर्थ समितिले चासो राख्ने भएको छ । अहिले बैठक जारी छ । राष्ट्र बैंकले स्वीकृति नदिएमा एनसेलको सेयर खरिदबिक्रीले पूर्णतासमेत पाउँदैन । डलर भुक्तानीका लागि राष्ट्र बैंकको अनुमति चाहिन्छ ।