देश

सोती नरसंहारबारे पीडकको पक्ष लिँदै जनार्दन शर्माले यस्तो भनेका थिए संसदमा

काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्मा यतिबेला रुकुम पश्चिममा भूकम्पपीडितका लागि व्यवस्थापनमा जुटेका छन् । एक साताभन्दा बढी समयदेखि उनी घरटहरा बनाइरहेका छन् । शर्मा सोही जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।

साढे तीन वर्षअघि रुकुम पश्चिममा आफूभन्दा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेको भन्दै जाजरकोटका नवराज विक र उनका पाँच साथीलाई लखेटीलखेटी हत्या गरियो । जसलाई सोती नरसंहारका नामले चिनिन्छ । पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले २०७७ जेठ १३ गते प्रतिनिधिसभामा हत्याराको बचाउमा आफ्नो विचार राखेका थिए । उनी नवराज विकले माथिल्लो जातकी किशोरीसँग प्रेम गर्नु अपराध रहेको भन्दै पीडकको पक्ष लिएका थिए ।

मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले सोती नरसंहारमा दोषीमध्ये २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । हत्यामा संलग्न भएको अभियोग लागेका ३३ मध्ये २४ जनालाई जन्मकैदको सजाय सुनाइएको हो । नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको पहिलो मुद्दा हो । हिजो आफैंले संरक्षण गरेका पीडकलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि शर्माको धारणा बाहिर आएको छैन । अदालतले फैसला सुनाउने बेला शर्मा रुकुममै थिए ।

साढे तीन वर्षअघि शर्माले प्रतिनिधिसभामा दिएको अभिव्यक्ति यस्तो थियो त्यहाँको यथार्थ अवस्था समग्र कुराहरूको अनुसन्धान अध्ययन गर्न जाजरकोट र रुकुम दुवै जिल्लाको स्थानीय प्रशासन अत्यन्त सक्रियताका साथ लागेको छ । पहिलो कुरा, सत्य तथ्य ल्याउन, सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न हामी सबैले आफ्नो ठाउँबाट सहयोग गरेका छौँ । स्थानीय पार्टीहरू, स्थानीय सरकार सबै सहभागी भएर अगाडि गएको कुरा हो सभामुख महोदय ।
तीनजनाको अहिलेसम्म नदीको किनारामा लास भेटिएको छ । अझै तीनजना बेपत्ता छन् ।

स्थानीय प्रहरीको रिपोर्टअनुसार त्यहाँ १८ः३० बजे घटना घटेको छ । त्यसमा वीरबहादुरको घरमा नवराज विकलगायतका १८ जना युवा आएको देखेपछि उनको श्रीमतीले छिमेकीहरूसँग गुहार गरेको र गुहारपछि छिमेकीहरू लकडाउनका बेलामा आएका युवाहरू को हुन् भनेर त्यहाँ झडप सुरु भएको र झडपका क्रममा दुबैतर्फ वडाध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी तत्काल त्यो ठाउँमा आइपुगेको छ ।

प्रहरीसँगै झडप पर्दा नदीमा ११ जनाले हामफालेको र पाँचजना तैरन सफल भएको, ६ जना हराएको र हराएकोमध्ये तीनजनाको लास प्राप्त भएको छ । जसमा नवराज विकलगायतका अरु दुईजना युवाहरू छन् । घटनाको सत्यतथ्य छानबिन गर्ने कुरामा हामी सबैको त्यहाँ राजनीति दबाब हुन सक्दैन । रुकुममा यस्ता घटनाहरूको बारेमा छुवाछूतसँग सम्बन्धित घटनाका बारेमा राजनीतिकरण हुन सक्दैन । सत्य तथ्य छानबिन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *