काठमाडौं । इगोकै कारण ठूल्ठूला नेताको राजनीति सकिएको छ । ठूल्ठूला कम्पनी, उद्योग कलकारखाना टाट पल्टेका छन् । देशको अवस्था खस्किने गरेको छ । अहिले नेपालमा पनि इगोकै कारण देशको राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरण डुब्ने तर्खरमा पुगेको छ ।
जुनसुकै पर्यटनमन्त्री आए पनि नेपाल एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरण कहिल्यै उँभो लागेन । बरु मन्त्री र सचिव नै विवादमा तानिए । भ्रष्टाचारमा मुछिए । अन्य मन्त्रालयभन्दा धेरै चलखेल हुने गरेका कारण पर्यटनमन्त्री विवादमा मुछिने गरेका हुन् । वर्तमान पर्यटनमन्त्री सुदन किराँती र नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक प्रदीप अधिकारीको टकरावका कारण संस्थाकै भविष्य खतरामा परेको छ । दुवै हठी स्वभावका परेकाले सुरुदेखि नै विवादमा तानिएका छन् ।
पर्यटनमन्त्री किराँती अधिकारीलाई हटाएरै छाड्ने र अधिकारी मन्त्री किराँतीलाई सफल हुन नदिने इगोका कारण काम गर्ने वातावरणसमेत नदेखेको कर्मचारीहरू बताउँछन् । मन्त्रालयको नीतिगत निर्णयमा समेत नागरिक उड्डयन प्राधिकरण प्रमुखको दबाब आउन थालेपछि केही दिनअघि पर्यटन मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय गरेको थियो । तर मन्त्रालयको सो निर्णयको विरोधमा प्राधिकरणका प्रबन्ध निर्देशक अधिकारीले कर्मचारी उचालेर आन्दोलन सुरु गरेका छन् ।
बुधबारदेखि निगमका कर्मचारी तथा संयुक्त ट्रेड युनियनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाका आधारमा नभएर स्वतः निगमले पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउन्ड ह्यान्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने उनीहरूले माग राखेका हुन् ।
वार्षिक चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने भन्दै निगमका कर्मचारीले विरोध गरेका हुन् । उनीहरूले प्राधिकरणबाट अडिटका लागि आउने प्राविधिकलाई रोक्ने चेतावनी दिएका छन् । युरोपेली युनियन (ईयू)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधबारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरूले अडिट गर्न आउने प्राधिकरणका कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन् ।
यो घटनामा मन्त्रीले जित्छन् कि प्राधिकारणका प्रबन्ध निर्देशक अधिकारीले जित्छन् ? केही दिन कुर्नैपर्ने हुन्छ । तर विमानस्थलमा समेत आन्दोलन हुने विषयले अन्तर्राष्ट्रियस्तरमा देशको साखमा भने धब्बा लाग्ने निश्चित छ । त्यसै पनि नेपाल एयरलाइन्स युरोपेली युनियन (ईयू) को आकाशमा कालोसूचीमा परेकै छ । आगामी दिनमा अरु देशमा पनि नपर्ला भन्न सकिन्न ।