काठमाडौं । मलेसियाको आजियटा ग्रुपले एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा एनआरएनए सतिशलाल आचार्यको कम्पनीलाई बेचेको विषयमा संसद्, अदालतदेखि सरकारसम्म तरंगित भएको छ । सरकारले सेयर खरिद प्रकरणमा छानबिन गर्ने घोषणा नै गरेको छ । सर्वोच्च अदालतले थोरै मूल्यमा सेयर खरिदबिक्री भएकोमा आशंका गर्दै क्रेता–विक्रेता दुवैलाई छलफलका लागि बोलाएको छ ।
अहिले संसद् सञ्चालन छैन । तर पनि संसदीय समितिले यो विषयमा छानबिन गर्ने बताइसकेको छ । अर्थ समिति र लेखा समितिले एनसेल खरिद–बिक्रीमा छानबिन गर्ने निर्णय गरेको हो । नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत सेयर बिक्री शंकास्पद देखिएकाले कागजात मगाएर अध्ययन थाल्ने जनाएको छ । प्रायः सबै दलका नेताले यो विषयमा आ–आफ्ना विचार सार्वजनिक गरेका छन् ।
तर मिसन ८४ भन्दै हिँडेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भने यही मौकामा अन्य दल र तिनका नेता खुइल्याउने रणनीति लिएको छ । रास्वपा सभापति रवि लामिछानेले एनसेल प्रकरणमा कुन दलका नेताले कति रकम खाएका हुन् ? भन्ने प्रश्न गरेका छन् । उनले यसका लागि छानबिनका लागि को को तयार हुने हो भन्दै प्रश्न गरेका हुन् । ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैलादैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’
रवि आफैं संसदको चौथो ठूलो दलको सभापति हुन् । उनी सरकारमा उपप्रधानमन्त्रीसमेत भइसकेका छन् । गृह मन्त्रालय चलाएका छन् । तर उनले अरु नेताको चरित्र हत्या गर्ने उद्देश्यले कुन कुन दलका नेताले कति कति रकम खाए भनेर प्रश्न गर्न मिल्छ ? उनले त यो यो नेताले यति यति रकम खाए भन्न सक्नुपथ्र्यो । विरोधको नाममा विरोध गर्ने र आफूलाई हिरोपन्थी देखाउन रविले छेप्यास्त्र प्रहार गरेका छन् ।
रविकै सिको गर्दै उनका उपसभापति स्वर्णिम वाग्लेले पनि ब्ल्यांक फायर खोलेका छन् । उनले त प्रभावशाली व्यक्तिलाई सिंगापुर घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । ‘एनसेलले राजनीति दल, नीति निर्माता र मिडियालाई प्रभावमा पारेको तथा नेताका श्रीमती र पुत्रलाई सिंगापुर घुमाएर अहिलेको अवस्था आएको हो,’ अर्थ समितिको बुधबारको बैठकमा उनले भने । तर उनले पनि यो यो दलका नेता, उनकी श्रीमती र छोरालाई सिंगापुर घुमाए भन्न सकेनन् । अर्थात् अरु नेताको चरित्र हत्या गर्दा आफू साखुल्ले देखिने रणनीति उनले अघि सारेका छन् ।
वाग्लेले नेपालमा शरणार्थी र स्टक काण्ड हुँदै अहिले एनसेल काण्ड आएको बताए । उनले आजियटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काटेर बोलाउन समितिलाई आग्रह गरे । ‘समितिले यो घटनालाई किनारा नलगाए देशलाई नै क्षति पुग्छ,’ उनले भने, ‘त्यसकारण पनि आजियटाका सीईओलाई बोलाउनुपर्छ, लगानी सम्मेलन गर्छु भन्ने अनि नेपालमा भएको कम्पनीले देशलाई धारेहात लगाउनु राम्रो होइन ।’ वाग्लेलाई धेरैले आर्थिक विज्ञ भनेर चिन्ने गरेका छन् । कांग्रेसले उनलाई भुइँबाट उठाएर देश विदेश चिनाएको हो । त्यही कांग्रेसलाई लात हानेर स्वर्णिम अहिले रविको दौराको फेरो समाउन पुगेर अरु दलका नेतामाथि हिलो छ्यापिरहेका छन् । कि स्पष्ट र किटानी साथ भ्रष्टाचारी नेताको नाम लिएर बोल्नुपर्छ, नत्र अर्काको चरित्र हत्या गर्दैमा जनताले पत्याउँछन् भन्ने भ्रम नराख्दा हुन्छ ।