काठमाडौं । कोशी नाम खारेजीको माग गर्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संंघर्ष समितिले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशका नेताहरूलाई विभिन्न ठाउँमा प्रवेश निषेध गर्ने चेतावनी दिने गरेको छ । पहिचानवादी पक्षधरले एमाले अध्यक्ष केपी ओलीलाई पनि कोशी प्रवेशमा निषेधको हल्ला चलाएका छन् ।
एमालेको मध्यपहाडी संकल्प यात्रा आज पर्वत हुँदै कास्की पुग्दैछ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म एक हजार आठ सय किलोमिटर पदयात्रा गर्ने एमालेको तयारी छ । पदयात्रा पुस १ गते पाँचथर पुग्ने बताइएको छ । तर अहिले एमाले अध्यक्ष ओलीलाई उनकै गृह प्रदेश कोशीमा निषेध गर्न खोजिएको भन्दै एमालेले आपत्ति प्रकट गरेको छ ।
बुधबारको कोशी प्रदेशसभा बैठकमा एमाले सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गरिनेछ भन्ने चर्चा दुःखद् र संविधानविरोधी कदम भएको बताए । कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलनरत संघसंस्थाले ओलीलाई प्रवेश निषेध गर्ने चर्चा थालिएपछि सांसदले आपत्ति जनाएका छन् ।
‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिनेछ भन्ने चर्चा दुःखद छ । यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु,’ मेन्याङ्बोले भने । पहिचानवादी पक्षधरले एमाले र कांग्रेसका नेतालाई कोशीका विभिन्न जिल्लामा कार्यक्रम गर्न अवरोध गर्दै आएका छन् । ओली नेतृत्वमा एक सय पचासजनाको डफ्फाले पदयात्रा गरिरहेको छ । खाने र बस्ने व्यवस्था स्थानीय कमिटीले मिलाएका छन् । अध्यक्ष ओली आफैँले पाँचवटा गाडीको प्रबन्ध गरेका छन् ।
अरुले आफैँआफैँ गाडी मिलाएका छन् । एमालेको उक्त यात्रा राजनीतिक नै हो, तर ठाउँ–ठाउँमा मठमन्दिर घुम्दै टोली अगाडि बढिरहेको छ । एमालेले आफ्नो संकल्प यात्रामा हजारौंको सहभागिता भएको भन्दै अर्को चुनावमा बहुमत नै ल्याउने दाबी गरेको छ । तर पदयात्रा केका लागि र कस्तो विचार सम्प्रेषण गर्न हो भनेर उसले जनतालाई बुझाउन सकेको छैन ।