देश

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बुधबार र बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिइएको छ । बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको छ ।

राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।

राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने अनुमति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट