देश

टेकनाथ रिजालले अदालतले तोकेको धरौटी बुझाएर छुट्न दिएनन् चासो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले छुट्न चासो दिएका छैनन् । उनलाई उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएकामा ६ जना छुटिसकेका छन्। बिहीबार पनि रिजालले धरौटी बुझाएका छैनन्। केन्द्रीय कारागारले धरौटी बुझाउन आफूसँग त्यत्रो पैसा नभएकाले रिजालले चासो नदेखाएको जनाएको छ । रिजाललाई गत असार १ गते केन्द्रीय कारागार लगिएको थियो।

रिजालसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भएका थिए।

यो प्रकरणमा उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा थुनामै छन्। खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न न्यायाधीश जनक पाण्डेले आदेश दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले आफ्नो फरक मत राखेपछि खाँण थुनामै छन् ।

जिल्ला अदालत काठमाडौंले गत असार १ गते १७ जनालाई थुनामा पठाएर तीनजनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो, तीमध्ये १० जना फरार छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *