राजनीति

महरामाथि खतराको घन्टी कायमै

काठमाडौं । संसद् सचिवालयकी एक महिलामाथि यौन शोषणको आरोपमा सभामुख पदबाट राजीनामा दिएर राजनीतिक करियर सिध्याएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा पनि तानिने सम्भावना कायमै छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरासँग समेत बयान लिने तयारी गरेको छ ।

पछिल्लो समय आयोगले महराका छोरा राहुलसँग बयान लिएको थियो । राहुल अहिले पुर्पक्षका लागि थुनामै छन् । अनुसन्धानका लागि तीन महिनाको समय अवधि पाएको आयोगसँग अब एक महिना मात्रै बाँकी छ । सुन तस्करीसँग जोडिएका सबै व्यक्तिसँग आयोगले बयान लिने भएको छ ।


गत असोज १५ गते गठन भएको आयोगले अहिलेसम्म २२ जनाको बयान लिएको आयोगका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिएका छन् । आयोगका अध्यक्षका अनुसार पहिलो चरणमा सुन प्रकरणमा जोडिएका कारागार र प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन थालिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा पुगेर पनि छानबिन गर्न पाउने अधिकार पाएको आयोगले सुनसँग जोडिएका आएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख महराले पटक–पटक फोनमा कुरा गरेको तथ्य बाहिरिएको थियो । सुन तस्करसँग महराको टेलिफोन संवादलाई लिएर संसदमा विपक्षी दलले चर्को आवाज उठाएका थिए । नेपालमा पछिल्लो समयमा सुन तस्करी बढेपछि सरकारले त्यसलाई छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध भएपछि छानबिन गर्न सरकारले आयोग बनाएको हो । प्रतिपक्षमा रहेको एमालेलगायतका दलहरूले सुनका विषयमा संसदमै विषय उठान गरेपछि सरकारले असोज १६ गतेबाट काम गर्ने गरी आयोग बनाएको थियो ।

चिनियाँ नागरिकले इलेक्ट्रिक भेपमाफर्त ल्याएको नौ किलो सुनमा महरा र उनको परिवार मुछिएको थियो । सुन तस्करसँगको मिलेमतोमा राहुलले बाबुको शक्ति प्रयोग गरेर भन्सार विभागका कर्मचारीलाई फोन गरेका थिए । महरा बाबुछोराकै कल डिटेल सार्वजनिक भइसकेको छ । इलेक्ट्रिक भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारकै कर्मचारीले गायब पारेर बेचेका थिए । उनीहरू पक्राउ परी हाल थुनामा छन् ।

यो प्रकरणमा महरा बाबुछोरालाई नै अनुन्धानमा तानेर पुष्टि भए कारबाही गर्न चौतर्फी दबाब बढ्दै गएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ संकटमा परेका थिए । तर सीआईबीलाई दबाब दिएर पूर्वसभामुख महरालाई उन्मुक्ति दिइयो । सुन तस्करी प्रकरणमा महरासहित माओवादीका अन्य नेताहरू पनि तानिन थालेपछि प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको हो । तर, सरकारले माओवादी नेताहरूलाई छानबिनको दायरामा तान्नै चाहेन ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले भने महरालाई पनि बयान लिन लागेपछि माओवादीमा हलचल मच्चिएको छ । यदि आयोगले स्वतन्त्रपूर्वक छानबिन गर्न पाएमा महरा सुन तस्करीमा तानिने सम्भावना प्रबल रहेको स्रोतले बताएको छ । सोही कारण अहिले आयोगलाई प्रभाव र दबाब दिन माओवादी नेताहरूले थालिसकेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *