राजनीति

गृहमन्त्री श्रेष्ठ अस्पताल बसेको बस्यै, प्रचण्डलाई राजीनामा दिन दबाब बढ्दो

काठमाडौं । यतिबेला एमाले ‘समृद्धिका लागि संकल्प यात्रा’ मा छ । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा डेढ सयको एमाले नेता कार्यकर्ताको फौज सुदूरपश्चिमबाट पूर्वतिर गइरहेको छ । पदयात्राका क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि राजीनामा दिन दबाब बढाइरहेका छन् । हरेक जिल्लामा पुगेर भाषण गर्दै ओलीले प्रचण्डले सरकार चलाउन नसकेको भनिरहेका छन् ।

बिहीबार बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखे । नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको उनको आरोप छ । ‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको बताए । ‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ उनले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’

यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अस्थायी संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन् । उनले अहिलेको सत्ता, व्यवस्था र राजनीतिक दलहरू असफल भएको दाबीसमेत गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेको संसदीय व्यवस्था असफल भएको भन्दै तत्काल अस्थायी संयुक्त सरकार गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याए । तर, अब बन्ने अस्थायी सरकार भने क्रान्तिकारीबिच ध्रुवीकृत गरी बनाउनुपर्ने उनको धारणा छ ।

‘जनजीविकाको विषयमा सरकारले काम गर्न सकेन । सत्ता, व्यवस्था, राजनीतिक दल असफल भयो । जनतामा चरम वितृष्णा बढ्दै गएको छ, अहिले दलहरू मिसन ८४ मा लागेका छन् । उनीहरू आ–आफ्नो स्वार्थमा लागेका छन् । विभिन्न विकल्प आएका छन् । ती विकल्पले काम गर्दैन,’ उनले भने ।
केपी ओली र मोहन वैद्य मात्र होइन, विपक्षी अन्य दलका नेताहरू पनि सरकारको कार्यशैलीप्रति रुष्ट छन् । सत्तारुढ दलमै पनि सरकार राम्रोसँग चल्न नसकेको भन्दै असन्तुष्टि छ । सत्तारुढ कांग्रेसका नेता डा.शेखर कोइराला केही दिनयता प्रधानमन्त्री प्रचण्डप्रति त्यति आक्रोशित देखिएका छैनन् । एक महिनाअघिसम्म शेखरले विपक्षी दलको नेताभन्दा एक कदम अघि बढेर प्रधानमन्त्री प्रचण्डबाट सरकार नचल्ने भन्दै राजीनामा दिन माग गर्दै आएका थिए । तर कांग्रेस अहिले महासमिति बैठकमा केन्द्रित भएकाले सरकार फेरबदलको कुरा कांग्रेसमा उठेको छैन ।

बुधबार प्रधधानमन्त्री प्रचण्डले सरकारका कामप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखे । उनले आफूले एक वर्षअघि दिएको निर्देशन सचिवहरूले पूरा गर्न नसकेको भन्दै सरकारको काम निराशाजनक रहेको बताए । यसो भन्दै गर्दा प्रचण्डका सारथीहरूले के के गरे त भन्ने विश्लेषण गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीपछि गृहमन्त्री निकै क्रियाशील हुनुपर्छ । देशको दैनिक प्रशासनिक र शान्ति सुरक्षाको काम गृह मन्त्रालयले हेर्ने गर्छ । तर केही महिनायता गृह मन्त्रालय आफैं बिरामी भएर बसेको छ । अर्थात् मन्त्रालयको गति सुस्त छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगातार बिरामी पर्दा सरकारले डेलिभरी दिन सकिरहेको छैन ।

असोज दोस्रो साता चीन पुगेका श्रेष्ठको मुटुमा गम्भीर समस्या देखिएपछि उतै एक महिना बसे । नेपाल आएपछि पनि उनी दुई सातासम्म सार्वजनिक रूपमा देखिएनन् । केही दिन मन्त्रालय पुगेका श्रेष्ठ अहिले हर्ट अट्याकभन्दा अगाडिको अवस्थामा अस्पताल पुगेकाले उपचारका क्रममा छन् । चिकित्सकले अझै पाँच दिन उनलाई अस्पतालमै रहन सल्लाह दिएकाले उनी मंसिर महिनाभर मन्त्रालय जान सक्ने अवस्था रहन्न ।

जनतामा सरकारको कामप्रति असन्तुष्टि बढिरहेका बेला गृहमन्त्री आफैं विरामी पर्दा प्रचण्डलाई ठूलै संकट आइपरेको छ । पुस तेस्रो साता मन्त्रिपरिषद् पुनर्गठनमा लागेका प्रचण्ड सबैभन्दा पहिले नारायणकाजी श्रेष्ठलाई सरकारबाट बिदा दिने मनस्थितिमा पुगेको बुझिएको छ । सकभर आफ्नै पार्टीबाट गृहमन्त्री बनाउने नभए रास्वपालाई सरकारमा ल्याएर रवि लामिछानेलाई मन्त्रालयको जिम्मेवारी दिने तयारीमा प्रचण्ड रहेको चर्चा सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *