रिबन

राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेसले खेल्नुपर्ने भूमिका

मुलुकको राष्ट्रियता संकटमा परेको निष्कर्षसहित एकदलीय पञ्चायती शासनले फाँसीसम्मको सजाय दिन सक्ने अनुमानका साथ गणेशमान सिंहसहित लामो प्रवासपछि कांग्रेसका संस्थापक नेता बीपी कोइराला फर्किएको दिन २०३३ पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै गरिएकोमा त्यसको सान्दर्भिकता नेपाली राजनीतिमा अहिले पनि उत्तिकै छ । नेपालका राजनीतिक दलहरूले एकतन्त्रीय पञ्चायती व्यवस्थालाई फाली संसदीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दासमेत राष्ट्रिय मेलमिलाप तड्कारो रूपमा खड्किरहेको वर्तमान अवस्थामा सबै दलहरू एकता र मेलमिलापमा लाग्नुपर्ने देखिएको छ ।

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कू गर्दै शासन आफ्नो हातमा लिएका थिए । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन्, नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरू जेलमुक्त भए । त्यसपछि उनीहरू भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको आठ वर्षपछि अर्थात् २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति ९राजा० मिल्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसले देशैभर मेलमिलाप दिवस मनाइरहँदा पछिल्लो समय कांग्रेसभित्रै मेलमिलाप हुन नसकेको र राष्ट्रिय एजेन्डाहरूमा कांग्रेसले मेलमिलापको नीति लागू गर्न नसकेको भनेर आलोचना भइरहेको छ । नेताका स्वार्थ र नेतैपिच्छेका गुट, उपगुटहरूले कांग्रेसलाई मेलमिलापतर्फ भन्दा बढी व्यक्तिवादी बनाइरहेको कांग्रेसकै नेताहरू नै स्वीकार्छन् । अहिले राजनीतिक परिवर्तनको मुद्दा सम्बोधन भइसकेको छ । अब लोकतन्त्रलाई सबल बनाउने र देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनुपर्नेछ ।

नेपालसँगै आर्थिक विकासको चरण सुरु गरेका विश्वका कयौं मुलुक धेरै माथि पुगिसके, तर, नेपाल पूर्वाधार र आर्थिक विकासका हिसाबले अझै निकै पछाडि छ । एकातिर पार्टीमा र अर्कातिर राष्ट्रिय मुद्दामा मेलमिलापका लागि कांग्रेसले नै मेलमिलापको नेतृत्व लिनुपर्ने धेरैको मत छ ।

जतिबेला कांग्रेस कमजोर हुन्छ, विभाजित हुन्छ र कांग्रेसका नेताहरू व्यक्तिवादी बन्दै जान्छन्, सिंगो मुलुक कमजोर हुन्छ । लोकतन्त्रमाथि नै खतरा बढ्छ । जब कांग्रेस एकढिक्का हुन्छ, जब कांग्रेसका नेताहरू सामूहिक नेतृत्व र साझा मुद्दामा सहमत हुन्छन्, देशले निकास पाउँछ । अहिले पनि राजनीतिक रूपमा केही शक्तिले छिर्के दाउ लगाउने प्रयास गरिरहेका छन्, अस्थिरता सिर्जना गर्ने कोसिस गरिरहेका छन् । यसलाई निस्तेज बनाउन पनि कांग्रेसले समन्वयकारी र नेतृत्वदायी भूमिका खेल्नुपर्ने आमजनताको आवाज छ ।

देशमा धेरै किसिमका दल क्रियाशील छन् । खासगरी कम्युनिस्टहरूको दबदबा राज्यका प्रायः सबै निकाय र संरचनामा छ । जसले मुलुकमा सुशासन कायम गर्न बाधा गरिरहेको छ । कम्युनिस्टरूको जञ्जाल र पपुलरवादीको लोकरिझ्याइँबाट देशलाई बचाउनुपर्ने दायित्व कांग्रेसको काँधमा छ । त्यसलाई सशक्त ढंगले बलियो र एकढिक्का कांग्रेसले मात्र गर्नसक्ने भएकाले मेलमिलाप नीतिको झनै सान्दर्भिकता देखिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *