आज पृथ्वीनारायण शाहलाई संझनु हरेक नेपालीको कर्तव्य हो । नेपालको भौगोलिक एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका थिए । तर त्यस पछिका शासकहरुले पृथ्वीनारायण शाहलाई भन्दा आफूलाई माथि राखे ।
पृथ्वीनारायण शाहको हुर्मत लिने मामिलामा विगतमा महेन्द्र शाह र माओवादी पार्टी सबैभन्दा अगाडि देखिए । यतिबेला आङकाजी शेर्पा तथा उनको समूहले महेन्द्र शाह र माओवादीको उत्तराधिकार लिएको देखिन्छ ।
२००७ सालको जनक्रान्ति सफल भएपछि नेपाली नोठमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने प्रस्ताव नेपाली कांग्रेसले राखेको थियो । इतिहासविद् डायमण्डशमशेर राणाका अनुसार जगतप्रकाशजंग शाह र बालकृष्ण समको सुझावअनुसार वीपी कोइरालाले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने प्रस्ताव गरेका थिए । तर यो प्रस्ताव राखेकै कारण तत्कालीन युवराज महेन्द्र शाहले कांग्रेसलाई दुस्मन करार मात्रै गरेनन्, कालन्तरमा जगतप्रकाशजंग शाहको टाउको काट्न लगाए ।
नेपालमा आफ्नै विश्वविद्यालय हुनुपर्ने र पृथ्वीनारायणशाहको नामबाट विश्वविद्यालयको नामाकरण गर्नुपर्ने प्रस्ताव पनि तत्कालीन युवराज महेन्द्र शाहले तुहाइदिएका थिए । पछि सुर्वणशमशेर राणाको पालामा विश्वविद्यालय त स्थापना भयो, तर पृथ्वीनारायण शाहको नाममा भएन, त्रिभुवनको नाममा भयो ।
२०१६ सालमा प्रथम जननिर्वाचित मन्त्रिपरिषदले झापादेखि कन्चनपुरसम्म पूर्वपश्चिम जोड्ने पृथ्वीराजमार्ग निर्माण गर्ने अवधारणा अघि सारयो ।पूर्वपश्चिम पृथ्वी राजमार्ग निर्माण गर्ने प्रधानमन्त्री वीपी कोइरालाको अवधारणाका सन्दर्भमा २०१६ पुस २७ गते देशव्यापी विद्यालयस्तरीय निवन्ध प्रतियोगिताको आयोजना गरियो ।
त्यो निवन्ध प्रतियोगितामा पाल्पा तानसेनमा कक्षा १० मा अध्यायनरत स्याङ्जाका युवा गोपालमान श्रेष्ठ प्रथम भएका थिए । तर २०१७ सालको कु पछि पूर्वपश्चिम पृथ्वी राजमार्ग निर्माण गर्ने वीपी कोइरालाको प्रयास थाती रह्यो । २०१९ सालमा राजा महेन्द्रले वीपीको त्यो प्रयास अघि त बढाए, तर पृथ्वी राजमार्ग नाम राख्ने वीपीको प्रस्तावमा टिपेक्स लगाएर आफ्नो नाम राखे ।
१. नेपाली नोटमा नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको फोटो राख्न महेन्द्र शाहले किन मानेनन् ?
२. कालजयी दिव्योपदेश दिएका राजनेता पृथ्वीनारायण शाहको नाममा विश्वविद्यालय स्थापना गर्न महेन्द्र शाहले किन इन्कार गरे ?
३. पूर्वपश्चिम राजमार्गको नामाकरण नेपालको भूगोल एकीकरणकर्ता पृथ्वीनारायण शाहको नाममा गर्न महेन्द्र शाहले किन मानेनन् ?
४. नारायणहिटी दरवार सामुन्ने पृथ्वीनारायण शाहको शालिकको सट्टा आफ्नो शालिक राख्ने व्यक्ति को थिए ?
५. राजधानी काठमाडौंको टुँडिखेलको उत्तरी क्षेत्रमा पृथ्वीपार्क बनाउने भनेर नेपाली सेनासँग लिइएको जग्गामा महेन्द्र शाहले आफ्नी श्रीमतीको नाममा पार्क बनाए । त्यो पार्क अहिले नेपाल संवतका प्रर्वतक शंखधर साख्वाको नाममा नामाकरण गरिएको छ ।
६. जननिर्वाचत प्रधानमन्त्रीलाई जेलमा थुनेर खल्तीबाट प्रधानमन्त्री पजनी गर्ने महेन्द्र शाहको चरित्र पृथ्वीनारायण शाहको दिव्योपदेश विपरीत थियो कि थिएन ?