धर्म/सस्कृति

द्रौपदीका पाँच पति, पाँच पुत्र

द्रौपदीको विवाहको पनि बेग्लै कथा रह्यो। एकजना ब्राह्मण कुमारले प्रतिस्पर्धा जितेर बाजी मारेको प्रतिफलमा पाँचजनाको हक लाग्ने भयो अनेकानेक कारणले। ती अनेक कारणहरूको व्याख्या र पूर्वजन्मको भागभोगसहित परिणाम भनेर जब श्री कृष्णद्वैपायनले पाँच कुमारहरूकै लागि यी अयोनिजा कन्याको जन्म भएको हो भनेर ठोकुवा गरेपछि कसले के बोल्ने र ?

महाभारत र पुराणहरूमा वर्णित डुलुवा ऋषिहरूको प्रसङ्ग बेलाबेलामा आउँछ। कहिले ऋषि दुर्वासाको प्रसङ्ग आउँछ, कहिले सप्तऋषिको प्रसङ्ग आउँछ त कहिले देवर्षि नारदको प्रसङ्ग आउँछ। यस्तै प्रसङ्ग रहेछ, देवर्षि नारदका बारेमा। जब द्रौपदीको विवाह पाँच पाण्डव कुमारहरूसँग भयो र अनेक बहानामा, चाहे पूर्वजन्मको बहानामा, चाहे स्वर्गका लोकपालहरूमध्ये वसुहरूलाई श्राप परेर पृथ्वीमा मानव चोलामा आउनु पर्ने स्वर्गका राजा इन्द्रका पाँच स्वरुपको अवस्थामा इन्द्राणी शचीको अवतारका रुपमा द्रौपदीको जन्म भएको कथाका आधारमा होस्, पाँचजना राजकुमारहरूकी साझा रानी भएको तथ्य छँदैथियो। तर एउटा समस्या के परिरहन्थ्यो भने उनी कसकीचाहिँ रानीको रुपमा रहने ? युधिष्ठिर सबै कारणले ज्येष्ठ भए, जेठाकी रानी नभई अरुले राज्यको भोग गर्न नपाउने नियम जो थियो, त्यसैले धेरै हक त जेठाको या राजाको हुने भयो।

अनि त्यो माथि चक्रमा घुमिरहेको कृत्रिम माछाको आँखामा तल पानीमा हेरेर वाणको सन्धानमार्फत् आँखाको नानीमा निसाना ताक्नुपर्ने प्रतिस्पर्धा जित्नेचाहिँ अर्जुन थिए र महाराज द्रुपदको सधैँ कल्पना नै के थियो भने आफूलाई वन्दी बनाएर महागुरु द्रोणाचार्यसमक्ष लैजाने महसुर अर्जुनलाई यो याज्ञसेनी छोरी दिएर पहिलेको बदला सकारात्मक रुपमा लिने चाहना थियो। प्रतिस्पर्धा जित्ने बेलामा समेत महाराज द्रुपदलाई के थाहा थिएन भने यो जित्ने र द्रौपदीमा हक जमाउने ब्राह्मण कुमार नै अर्जुन हुन् किनभने त्यो बेलामा हल्ला के चल्यो भने पाँचकुमार सहित कुन्ती महारानी पनि बारणावर्तमा दरबारमा आगो लागेकोले सबै डढेर मरे।

विवाहका लागि सबै व्यवस्था गर्दा पनि महाराज द्रुपदको दिमागमा छोरीको पाणिग्रहण गर्नका लागि अर्जुनबाहेक कोही पनि योग्य ठानेका थिएनन् तर समयक्रममा सर्तसहितको स्वयंवर आयोजना गरिएको थियो। यसरी पाँच ब्राह्मण कुमारहरूको भेषमा पाण्डवहरूले प्राविधिकरुपममा द्रौपदीमाथि आफ्नो हक जितेका थिए र वेदव्यासको इच्छामा र व्याख्यामा पाँच कुमारहरूले नै पालैपालो पाणिग्रहण गरेका थिए।

यसरी प्राप्त द्रौपदी कसकी हुन् ? उत्तर स्पष्ट थियो, पाँचैजनाकी साझा रानी हुन्। तर कसले कहिले भोग्ने त ? पत्नीको हक मात्र पतिहरूसँग सँगै बस्नुमात्र होइन, प्राकृतिक रुपमा एकअर्कासँग रतिरागमा डुब्नु पनि हो।

कस्तो विडम्बना थियो भने ज्येष्ठभ्राताको हकमा र उनको आदेश विना द्रौपदीमाथि कसैले अधिकार जमाउन नसक्ने, द्रौपदीको मनमा भने सानैदेखि अर्जुनप्रतिको आसक्तिले भाग्यवश उनैको करामतले उनीहरूकै हातमा उनी आइपुगेकी पनि। अनि युधिष्ठिर कस्ता थिए भने जब द्रोपदी सुत्ने ओछ्यानमा आउँथिन्, त्यहाँ पनि उनी नैतिक शिक्षाका कुराले अलमलमा पार्थे। द्रौपदी ज्येष्ठ पाण्डवसँग रतिरागका लागि आएकी कि नैतिक शिक्षाको कक्षा लिन आएकी ? यो समस्या खाण्डवप्रस्थबाट इन्द्रप्रस्थ हुँदासम्म रह्यो। एकदिन देवर्षि नारद, नारायण नारायण भन्दै महाराज युधिष्ठिरको दरबारमा आए र त्रिकालदर्शी नारदले यो समस्या थाहा पाएका थिए। विनाप्रसङ्ग देवर्षिले अत्यन्त मिल्ने दुई दाजुभाइ असुर राजा सुन्द र असुर राजकुमार उपसुन्दको कथा सुनाए।

सुन्द र उपसुन्द एकजना अत्यन्त राम्री कन्याका लागि लडाईँ गरेर आफू आफू मरेका थिए।कथाको सारांश थियो, तपाईँहरू पाँच भाइकी साझा विश्व सुन्दरी रानी द्रौपदीका लागि भावी दिनमा त्यस्तै विवाद आउला, कसकी रानी भन्ने ? त्यसैले एकजना भाइका लागि एकवर्षको समय विभाजित गर्ने, त्यसले गर्दा कसको समय हो द्रौपदीसँग भन्ने पनि विवाद नहुने र जन्मने सन्तानको पनि कसको सन्तान हो भन्ने थाहा हुने। बरु जसको पालामा द्रौपदी पर्छिन्, त्यसकै पालाको नाताले एकअर्काले व्यवहार गर्ने। जस्तो कि युधिष्ठिरको पालामा द्रौपदी हुँदा उनी महारानी कहलिने, सबैले भाउजुको रुपमा व्यवहार गर्ने। भीमको पालामा युधिष्ठिरले बुहारीको रुपमा व्यवहार गर्ने अनि अरु भाइले भाउजुको रुपमा सम्मान गर्ने।

यदि त्यो बेलामा एकअर्कासँग भेटघाट गर्दा अनुमतिले मात्र द्रौपदी या उनका पालाको पतिसँग भेट्ने। यदि अनुमति विना दुईजनामात्र भएको बेलामा भेटघाट गर्न कोही पनि गएमा उसले बाह्रवर्षको तपस्याका लागि दरबार छोडेर जानुपर्ने।

यसरी एउटा राजकुमारसँग एकवर्ष बस्दा द्रौपदीसँग सहबास नहुने भएकाले साझा रानीको सट्टा पाण्डवहरूका पनि अन्य पत्नीहरू थिए भन्ने महाभारतमा पाइन्छ। अनि तिनीहरूबाट पनि सन्तान भएको प्रमाण पाइन्छ। द्रौपदीले प्रत्येक पाण्डवहरूका लागि एकएकवटा छोरा पाएकी थिइन्। युधिष्ठिरबाट जन्मेको छोराको नाम प्रतिविन्द्य थियो, भीमबाट जन्मेको छोराको नाम सुतसोम, अर्जुनबाट जन्मेको छोराको नाम श्रुतकीर्ति, नकुलबाट जन्मेको छोराको नाम शतानीक र सहदेवबाट जन्मेको छोराको नाम श्रुतकर्मा या श्रुतसेन थियो।

त्यसो त द्रोपदीको पालो पर्खन समय लाग्ने भएकाले त्यो बेलाको राजकीय चलनअनुसार सबै राजा, राजकुमारहरूको एकभन्दा बढी रानी हुन्थे। पाण्डवहरूका पनि थिए। युधिष्ठिरकी रानीको नाम देविका थियो र उनीबाट यौधेय नामका छोरा जन्मेका थिए। भीमका हिडिम्बा नामकी राक्षसीसँग विवाह भएको थियो सबैभन्दा पहिले, अनि उनीबाट घटोत्कचको जन्म भएको थियो। पछि राजकुमारी बलधरा या जलधरा नामकी कन्यासँग विवाह भएको थियो र उनीबाट सर्बत्रात नामको छोरो जन्मेको थियो। अर्जुनको विवाह वसुदेव मामाकी छोरी सुभद्रासँग भएको थियो जसबाट महारथी पुत्र अभिमन्युको जन्म भएको थियो। उलुपी नामकी नागकन्यासँग भएको विवाहबाट इरावान नामको छोरो जन्मेको थियो, मणिपुरकी नागकन्या (कतै यक्षकन्या पनि भनिएको पाइन्छ) चित्राङ्गदा भएको विवाहबाट महारथी बभ्रुवाहनको जन्म भएको थियो र पछि उनै बभ्रुवाहन मणिपुरका राजा भएका थिए। नकुलको पनि विवाह भएको थियो राजकुमारी करेणुमतीसँग, उनीबाट निरमित्र नामका छोरा जन्मेका थिए। सहदेवको विजयासँग विवाह भएको थियो र उनीबाट सुहोत्र नामका छोरा जन्मेका थिए।

फेरि फर्कनु पर्‍यो धृष्टद्युम्नको जन्मको कारणमा। द्रौपदीको जन्मको कारणमा। राजकुमारहरूको अध्ययन त गुरुकुलमा हुन्थ्यो शस्त्रास्त्र र शास्त्रको अध्ययनका लागि। प्रायशः विभिन्न गुरुकुलमा विषय विज्ञता हुन्थ्यो। कतै शास्त्र, कतै शस्त्रास्त्र त कतै व्यवहारजन्य खेतीपाती। ब्राह्मण र क्षत्रिय कुमारहरूलाई एउटै गुरुकुलमा राखिन्थ्यो भने वैश्य कुमारहरूलाई खेतीपाती, उद्योग—वाणिज्य, पशुपालनका बारेमा सिकाइन्थ्यो।

तर द्रुपदका लागि एउटा समस्या थियो, एउटा सन्तान शिखण्डी भीष्म पितामहको मृत्युको कारण आफैँ हुन चाहन्थ्यो भने अर्को छोरो धृष्टद्युम्न आफैँले यज्ञ गरेर द्रोणाचार्यको मृत्युको कारण तयार थियो। तर पढाउनु पर्ने ठाउँ थियो कुरु दरबार हस्तिनापुर जहाँ द्रोणाचार्य पढाउँथे अनि अभिभावकत्व भने देवव्रत भीष्मको थियो।

द्रोणाचार्यको मृत्युका लागि त उनले यज्ञबाट एकजना कुमार धृष्टद्युम्न प्राप्त गरिसकेका थिए। मात्र द्रुपदलाई द्रोणाचार्यसँग बदला लिनु थियो, त्यो पनि मृत्युको मुखमा पसाएर। समस्या थियो, उनले पाएको वरदान। छोरो अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका थिए, जो कहिले पनि मर्दैनथे। अनि द्रोणाचार्यले प्राप्त गरेको वरदान थियो, छोराको मृत्युशोकपछि मात्र उनको कालकलवित हुने अवस्था सृजना हुन्थ्यो। छोरो चिरञ्जीवी कहिल्यै नमर्ने, बाबुको मृत्यु छोराको मृत्युशोकपश्चात्मात्र हुने। यो विडम्बनाको अवस्था चिरेर धृष्टद्युम्नले द्रोणाचार्यको हत्या गर्नु थियो। यज्ञबाट उत्पन्न भएका राजकुमार धृष्टद्युम्नको एउटै मात्र लक्ष्य थियो, महाराज द्रुपदको सट्टा बदला लिने द्रोणाचार्यसँग। त्यो बेलामा अरु ऋषिभन्दा गुरुकुलीय शिक्षामा प्रख्यात थिए द्रोणाचार्य जसलाई हस्तिनापुर दरबारले दरबारभित्रै गुरुकुल सञ्चालन गर्न सबै राजकीय सुविधा प्रदान गरेको थियो। क्रमशःINS

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *