धर्म/सस्कृति

लङ्का बनाउने मयासुरले पाण्डवका लागि रचना गरे इन्द्रप्रस्थ

द्रौपदीको जीवनले कसैलाई उत्प्रेरणा दिन्छ भने कतिमा नैराश्यता पनि पैदा गर्छ। कारण हो उनको जीवनको आरोह अवरोह। पटरानी भएर बसेकी सम्राट युधिष्ठिरकी बडामहारानी द्रौपदी जस्तीले पनि जुवाको खालमा हारिनु परेको थियो। कारण त धेरै थिए तर खासमा सत्ताको वागडोरका कारणले नै त्यस्तो भएको थियो।

हस्तिनापुर विभाजित भयो। हस्तिनापुरका चक्रवर्ती सम्राटहरूका प्रयासले हजारौँ गणराज्यहरूको एकल साम्राज्यका रुपमा गणना गरिएका महाराज धृतराष्ट्रको अखण्ड भारत आन्तरिकरुपमा विभाजित भएर इन्द्रप्रस्थ र हस्तिनापुर दुई ठाउँमा राजधानी भएको सत्य थियो। त्यो राज्यको भागबन्डा नै थियो। दुई परिवारको मिलन सम्भव नहुने देखिए पछि र पाण्डवहरूलाई जसो गर्दा पनि पन्छाउन नसकेपछि अर्को षडयन्त्र सफल नहुन्जेलसम्मका लागि नयाँ ठाउँमा राज्य दिइएको थियो। कुनकुन गणराज्य युधिष्ठिरको भागमा परेका हुन् र कुनकुन गणराज्यहरू धृतराष्ट्रको मूल राज्यमा यथावत् छन् भन्ने पनि त्यति स्प्ष्ट थिएन। मात्र महाराज धृतराष्ट्रले, झट्ट हेर्दा युवराजको मान्यतालाई सम्मान गरेजस्तो गरी आफ्ना दरबारबाट पाण्डवहरूलाई पन्छाएको बुझ्न सकिन्थ्यो। साँच्चै भन्ने हो भने मूल राज्यजस्तो देखिन्थ्यो युधिष्ठिरको ठाउँ तर न सम्पत्ति थियो, न सेना थिए, न हात्ती,घोडा या अन्य कुनै दरबारको व्यवस्था।

त्यसो त जनताको पक्षधरता बढी पाण्डवका पक्षमा देखिन्थ्यो र पनि दुर्योधनको हातमा प्रशस्त राजकीय कोष थियो, सम्पूर्ण राजकीय सम्पत्ति थियो, भयानक दरबार थियो, ऐशआरामका सबै सामग्री पहिलेदेखिकै तम्तयार थिए तर जनताको माया थिएन भन्ने कुरा राजसूय यज्ञको बेलामा देखिन्थ्यो। कूटनीतिक तरिकाले मानेको देखिए पनि राजसूय गर्ने अधिकार मुख्य राजालाई मात्र हुन्थ्यो जसका लागि बाध्य भएर राजसूय यज्ञको तयारी गर्न इन्द्रप्रस्थलाई अनुमति दिइयो।त्यो पनि खिसीजस्तै मानिएको थियो किनभने यज्ञका लागि कुनै पूर्वाधार नै थिएन।

यज्ञको तयारीदेखि त्यसको व्यवस्थापन सम्ममा भारतको राजधानी हस्तिनापुर भनेर मानिएता पनि यथार्थमा इन्द्रप्रस्थ नै मानिने गरी हस्तिनापुर समेतले स्वीकृति दिएको अवस्था थियो। एकातिर राजसूय यज्ञका लागि चन्दा उठाएजस्तो गरी रकम मागेर चलाउनु परेको थियो। धन्न, द्वारकाधीशको मायाले केही कुराको पनि कमी भएको थिएन,अनि चक्रवर्ती राजाको रुपमा युधिष्ठिर हुने लक्षण देखेपछि गणराज्यका राजा—रजौटाहरूले युधिष्ठिरलाई विभिन्न तरिकाले सहयोग गर्ने नै भए। तर विश्वकर्मासँग तुलना हुने मय नामक शिल्पीले बनाएको  सभामण्डप सहितको अभूतपूर्व दरबार भने पाण्डवहरूसँग थियो इन्द्रप्रस्थमा।

यी मय तिनै हुन् भनिन्छ जसले लङ्काको संरचना गरेका थिए र रावणको दरबार, दुर्गको संरचना तयार गरेका थिए। महाभारतमा स्पष्ट नभनिएको भए पनि वेदव्यासको लाक्षणिक अर्थ तिनै मयासुर नै खाण्डव वनमा लुकेर बसेका शिल्पी हुन्। त्यसो त रामायणका अनुसार मयासुरकी अत्यन्त राम्री छोरी मन्दोदरी नै रावणकी महारानी थिइन्। अर्थात् राज्यलक्ष्मी थिइन्। पछि रामले रावण वध गरेर लङ्काको राज्याभिषेक विभीषणलाई गरेपछि रक्ष संस्कृतिका अनुसार मन्दोदरीले राज्याधिपति विभीषणलाई नै पतिको रुपमा मानिन्। तिनै मन्दोदरीका पिता मयासुर नागहरूको सहयोगमा खाण्डव वनमा लुकेर बसेका रहेछन् भन्ने मान्नु पर्ने हुन्छ।

त्यसो त पुरानो इन्द्रप्रस्थ नै कुरुवंशीय राजधानी हो भनेर फकाएर पाण्डवहरूलाई खाण्डव वनमा धृतराष्ट्र महाराजले पठाएका हुन्। धृतराष्ट्रका छोराहरूले के पनि सम्झेका थिए भने त्यत्रो ठुलो घना जंगल फाँडेर कहिले सक्लान् र मानव बस्ती तयार गर्लान् अनि राज्यका लागि  जनता बनाएर राज्य कसरी गर्लान् ? तर अग्निको कृपाले र अग्निले धेरै समयदेखि आफ्नो क्षुधा शान्त गराउन नसकेको बेलामा खाण्डव वनलाई मानव बस्ती बनाउने  जिम्मा पाएका पाण्डवहरूलाई श्रीकृष्णको कुशाग्र बुद्धि र भावी दिनको बारेमा दिव्य जानकारी राख्ने त्रिकालदर्शी कृष्ण र वेदव्यासले खाण्डव वनलाई फाँड्नका लागि प्रेरणा दिएका नै देखिन्छन्। यहाँनिर के कुरा स्मरणीय छ भने पाञ्चाला नरेशसँगको बिहेबारीले गर्दा पनि पाण्डवहरूले नयाँ राज्यको शासन गर्ने अवसर पाएका हुन् र पाञ्चाल नरेशलाई आफ्नो क्षमता देखाउनु पनि पाण्डवहरूको लागि आवश्यक थियो।

मय नामक शिल्पी अभियन्ता किन खाण्डव वनमा लुकेर बसेका थिए भन्ने कुरा महाभारतमा स्पष्ट भनिएको छैन तर जब खाण्डव वनलाई अग्निले दग्ध गर्न थाले, हजारौ रुखहरू डढेर खरानी हुन थाले, जंगल सखाप हुँदा त्यहाँ बास बसेका लाखौँ चरा, वन्यपशुहरू र घिस्रने जीवहरू मर्दै थिए। तिनीहरूको भोगले अग्नि तृप्त हुँदै थिए। लुकेर बसेका मयलाई के पनि थाहा थियो भने कुनै पनि जन्तु जनावर, सरिसृप, भिल्लहरू, नागहरू र लुकेर बसेका अनार्यहरू सबै नै चक्रवर्ती राजाका लागि भोलिका शत्रु हुन्, तिनको  निमिट्यान्न पार्न भनेर कृष्ण र अर्जुन पालो बाँधेर जंगल बाहिर बसेका थिए। अग्निसँगको सम्झौता पनि त्यस्तै थियो, खाण्डव वनभित्रका सबै प्राणी तथा वनस्पतिहरू सखाप पारेर अग्निले खाने, अनि त्यहाँको मरुभूमिलाई मानव बस्ती लायकको बनाउने काममा अर्जुनको शिल्पले काम गर्ने।

गुमनाम जीवन बिताएर नागहरूको संरक्षणमा बसेका महान शिल्पी मयलाई ठुलो समस्या पर्न गयो। कता जाने ? या त आगोमा पोलिएर मर्नु पर्‍यो, या त बाहिर भाग्न थाल्ने हो आफू खाण्डव वनलाई मानव बस्ती लायक बनाउन तयार भएका अर्जुनको वाणको निसानामा परी मर्नु नै थियो। 

आफूलाई नमार्न र युगौँदेखिको शिल्पीज्ञानको कदर गर्न अनि आफू कुनै पनि प्रकारको सहयोग गर्न तयार भएको कुरा मयासुरले बताए पछि अर्जुन र कृष्णले उनको जीवन दान दिए र त्यसको सट्टामा अभूतपूर्व दरबारको संरचना गर्न अनुरोध गरे। नभन्दै मयासुरले पानी जस्तो देखिने तर पानी होइन, जमिन जस्तो देखिने तर  जमिन नभएर पानी नै पानीको संरचना तयार गरे। अझ यज्ञ मण्डप त कस्तो तयार गरे भने न त्यस्तो सुन्दर मण्डप पहिले कहिल्यै बनेको थियो, न त्यसपछि नै बनेको सुनियो त्यसबेलामा।

खाण्डव वनलाई खाण्डव प्रस्थ या इन्द्रप्रस्थमा परिवर्तन गर्नु थियो। त्यसका कारणहरू पनि थुप्रै थिए होलान् तर सबैभन्दा मुख्य विशेषता नै युधिष्ठिरको सत्यवादिता, भीमको राष्ट्रप्रतिको मोह, अर्जुनको क्षमता, नकुलको व्यवस्थापन र सहदेवको सुझबुझपूर्ण व्यवहारको बेग्लै जानकारी दिनु पनि थियो जनतालाई।

आखिर ती सबैको केन्द्रविन्दुमा थिइन् द्रौपदी जसको सुन्दरता, वाकपटुता र मान्यजन तथा सबैसँग गरिने भद्र व्यवहारका लागि त्यो समयमा प्रख्यात थिइन्। एक त अयोनिजा, अर्को उनको जन्मदाको अवस्था नै रहस्यात्मक, त्यसमा जुम्लाहा दाजु बहिनीको आगमन, दाजु धृष्टद्युम्न र बहिनी कृष्णा, युवा अवस्थाको उत्पत्ति। द्रुपद महाराजका घरमा जन्मेका शिखण्डीको रहस्यात्मक पुनरुद्भव। कसैले भन्थे अम्बाको पुनर्जन्म। कसैले भन्थे क्लीव।

कसैले भन्थे जन्मँदा महिला, पछि पुरुष भएकाले उनको अस्तित्व न पुरुष, न महिला तर उनी थिए महारथी। महाभारतको युद्धमा महारथीको रुपमा पाञ्चाल राज्यका तर्फबाट पाण्डवका पक्षमा डटेर लडिरहेका योद्धा। उनको एउटै अभियान थियो, भीष्म पितामहको अहं तोड्ने र आफ्नै हातको धनुवाण मार्फत् पितामहलाई शरशय्यामा सुताउने। क्रमशःINS

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *