देश

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन काठमाडौँमा आयोजना हुने

काठमाडौं । विश्वका १५० विश्वविद्यालयका उपकुलपतिको भेला काठमाडौँमा भेला हुने भएको छ । काठमाडौँ विश्वविद्यालयले सोमबार एक विज्ञप्ती जारी गदैं फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुने जनाएको छ ।

उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो। भारतीय विश्वविद्यालय सङ्घको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको तत्त्वावधान सभाको आयोजना गर्न लागिएको काठमाडौँ विश्वविद्यालयले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौँ विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल विषय रहेको उल्लेख गरे । उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उनले बताइन् ।

प्रवक्ता पुनका अनुसार हालसम्म करिब २२७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको सभामा नेपालका १५ जना उपकुलपतिको सहभागिता रहनेछ । भारतबाट विभिन्न १७ राज्यका विश्वविद्यालयबाट समेत सहभागिता हुनेछ। सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधि समेत सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदान प्रदानलाई प्रोत्साहित गर्ने उनको भनाइ छ। सभा, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा साबित हुने बताइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *