राजनीति

नेपाली कांग्रेसका लागि यो पटकको महासमिति बैठक किन महत्त्वपूर्ण?

काठमाडौं । सत्ताधारी तथा संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस महासमिति बैठक सोमवारबाट ललितपुरमा सुरु भएको छ । फाल्गुन ७ गतेबाट सुरु भएको महासमिति बैठक १० गते सम्म सचालनमा रहनेछ । महासमिति बैठकमा आज दोस्रो दिन प्रतिवदेन पेश गर्ने कार्यतालिका छ ।

महासमिति बैठकले कांग्रेसको नीति पारित गर्ने भएकाले यसलाई ‘नीति महाधिवेशन’कै अर्को रूप भन्दा फरक नपर्ने कांग्रेस नेताहरुले बताएका छन् । । कांग्रेसले आगामी दिनका लागि लिने नीतिबारे देशैभरिबाट आएका प्रतिनिधिबीच बृहत् छलफल हुने भएकाले यो बैठकलाई धेरैले चासोपूर्वक हेरेका छन्। आफूलाई नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक दल भन्दै आएको कांग्रेसको यही बैठकले तय गरेका नीति र मार्गनिर्देशनका आधारमा पार्टी अघि बढ्ने नेताहरूले बताएका छन्। दलको आन्तरिक बैठक भए पनि यसलाई “दलबाहिर र देशैभरिबाट चासोपूर्वक हेरिएको” प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्मा बताउँछन्। यस पटकको बैठकमा कांग्रेसका केही नेताहरूले ‘सनातन हिन्दूराष्ट्र’को मागलाई पनि व्यापक रूपमा उठाउने घोषणा गरेका छन्। पार्टीका २२ जना केन्द्रीय सदस्यले त्यससम्बन्धी एउटा पूरक प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष पेस समेत गरेका थिए।

बैठक किन महत्त्वपूर्णरु

नेपाली कांग्रेसका अनुसार सोमवार सुरु भएको बैठक बिहीवार सम्पन्न हुनेछ। ललितपुरको गोदावरीमा हुने उक्त बैठकमा पार्टीको नीतिसम्बन्धी प्रस्तावमा छलफल हुने भएकाले यो विशेष भएको प्रचारप्रसार उपसमितिका संयोजक विश्वकर्माले बताए।प्रायस् लोकतान्त्रिक दलहरूको महाधिवेशनले पार्टीको विधान र नीति पारित गर्नुका साथै नेतृत्व चयन गर्ने गर्छ। नेपाली कांग्रेसले विसं २०७८ मङ्सिरमा १४औँ महाधिवेशन गरेको थियो र सोही महाधिवेशनबाट देउवा पुनस् सभापति चयन भएका थिए।

यद्यपि त्यस बेला समय नपुगेको भन्दै कांग्रेसले नीति पारित गरेको थिएन र त्यसबारे छलफल पनि भएन। विश्वकर्माले भने, “हाम्रो पार्टीको चौधौँ महाधिवेशनमा विधान पारित गरी नेतृत्व पनि चयन गरियो। तत्कालीन अवस्थामा समयाभावका कारण नीति प्रस्तावमा छलफल भएन।” नीतिगत प्रस्तावमा छलफल गर्न छुट्टै नीति अधिवेशन गर्ने र नेतृत्व चयनबाहेक महाधिवेशनले गर्ने सबै कार्य महासमितिले गर्न सक्ने वैधानिक प्रावधान अनुसार यो महासमितिको बैठक आयोजना गरिएको छ।”

पार्टीको भावी कार्यदिशाका लागि नयाँ नीति बन्ने भएकाले यो बैठक महत्त्वपूर्ण भएको उनले जानकारी दिएका छन्। यो बैठकले पार्टीको राजनीतिक, सामाजिक र आर्थिक मार्गलाई स्पष्ट गर्ने र त्यसै अनुरूप दल अघि बढ्ने नेताहरूको भनाइ छ।

सहभागी र छलफल

उक्त दलको महासमिति बैठकमा विभिन्न नीतिगत प्रस्तावहरू पेस हुने र त्यसमा देशैभरिबाट आएका महासमिति सदस्यहरूले छलफल गर्ने बताइएको छ। कांग्रेसले महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापित तथा भातृ र शुभेच्छुक संङ्घरसंस्थाका केन्द्रीय अध्यक्षहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी गराउने निर्णय गरिसकेको छ।

उक्त बैठकबारे जानकारी दिन जारी एउटा विज्ञप्तिमा जनाइए अनुसार बैठकमा मुख्यतस् तीनवटा प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।बैठकमा नीतिगत प्रस्ताव पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले पेस गर्नेछन्। त्यस्तै पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन्।

त्यसमा भनिएको छ, “नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पेजको नीति प्रस्ताव, महामन्त्रीहरूको साङ्गठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरू माझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासीलो र भरपर्दो गरी काम गर्दछ भन्ने थप विश्वास दिलाउने छ।”

हिन्दूराष्ट्रबारे बहस

पार्टीको महासमिति बैठकअघि गत बिहीवार र शुक्रवार केन्द्रीय समिति बैठक भएको थियो। शुक्रवारको बैठकमा कांग्रेसका २२ जना केन्द्रीय सदस्यले महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिनुपर्ने भन्दै सभापित देउवालाई एउटा पूरक प्रस्ताव पेस गरेका थिए। त्यसमा महासमिति बैठकले निर्णय गरेर सनातन हिन्दू राष्ट्रको पक्षमा नेपाली कांग्रेस लाग्नुपर्ने उल्लेख छ। कांग्रेका केही नेताहरूले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएदेखि नै हिन्दूराष्ट्र पुनर्स्थापनाको अभियान चलाउँदै आएका छन्।

निधन हुनु अघिसम्म कांग्रेस नेता खुमबहादुर खड्काले त्यस्तो अभियानको नेतृत्व गर्दै आएका थिए। पछिल्ला केही वर्षदेखि भने कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शङ्कर भण्डारीले त्यस्तो अभियानको अगुवाइ गरेका छन्। भण्डारी संयोजक रहेको ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’ले विभिन्न गतिविधि गर्नुका साथै पार्टी नेतृत्वलाई त्यसका लागि दबाब दिँदै आएको छ।

उनै भण्डारीको नेतृत्वमा महासमिति बैठकअघि पनि कांग्रेसलाई हिन्दूराष्ट्रको पक्षमा लाग्न दबाब दिने खालका गतिविधिहरू कांग्रेस नेता तथा कार्यकर्ताले गरिरहेका छन्। गत शनिवार ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को घोषणा गर्दै भण्डारीसहितका नेताहरूले बैठकभित्र आफूहरूले घनीभूत रूपमा हिन्दूराष्ट्रको माग उठाउने बताएका थिए।

उनीहरूले बैठक बाहिर उक्त मागलाई बल दिन ब्यानर र पम्प्लेटसहित उपस्थित हुन कार्यकर्ताहरूलाई आह्वान समेत गरेका थिए। कतिपय हिन्दूराष्ट्र पक्षधर नेताहरूले त्यसमा पार्टी नेतृत्वको पनि सकारात्मक धारणा रहेको बताउँदै आएका छन्। यद्यपि हिन्दूराष्ट्रको पक्षमा नरहेका नेताहरू अहिले संविधानलाई उल्ट्याउने बाटोमा जानु नहुने तर्क गर्छन्। राजनीतिशास्त्रीहरू भने नेपाली कांग्रेसले “आफ्नो घट्दो मतआधार जोगाउन धर्मको आड लिनसक्ने” सङ्केत गर्छन्।बीबीसी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *