राजनीति

वर्तमान गठबन्धन चुनौतीपूर्ण सहयात्रा, बहुदलको सरकारलाई सन्तुलन राख्ने जिम्मेवारी कांग्रेसको काँधमा : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ललितपुरको गोदावारीमा दोस्रो दिन जारी महासमिति बैठकको महामन्त्री विश्व प्रकाश शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन्। ‘संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुराउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट रहेको महामन्त्री शर्माले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वर्तमान गठबन्धन चुनौतीपूर्ण सहयात्रा भएको महामन्त्री शर्माले उल्लेख गरेका छन् । पटक पटकको संसद् विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए। त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिएको उनले बताए ।

महामन्त्री शर्माले वर्तमान गठबन्धन बाध्यताको गठबन्ध भएको बताएका छन् । गठबन्धन विना निर्वाचनमा कुनै पनि राजनीति दलले एकल मत ल्याउन नसक्ने अवस्था सिर्जना भएको र बहुमतको सरकार बनाउँदा धेरै चुनौतीहरु भोग्नुपरेको बताउँदै उनले बहुमतको सरकारलाई सन्तुलनमा राख्न नेपाली कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको काँधमा आइलागेको उनले बताए ।

सरकारको प्रभावकारीता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताउँदै ‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टी र पीडाको पहिचान सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्ने बताए । देशमा देखा परेका हरेक किसिमका समस्या समाधानका लागि आगामी दिनमा कांग्रेसले संकल्प र दृढता राख्नुपर्ने उनले उल्लेख गरे । राजनीतिक प्रतिको विकर्षण अन्त्य गरि देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग वृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षा सहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको महामन्त्री शर्माले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट