राजनीति

कांग्रेस महासमिति बैठकमा ०८२ भित्र १५औँ महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारबाट सुरु भएको महासमिति बैठकको दोस्रो दिन प्रतिवेदन पेश गरेका छन् । मंगलबार कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी २०८२ सालभित्र १५औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । सांगठनिक प्रतिवेदन महासमिति बैठकमा पेश गर्दै महामन्त्री थापाले विधानको व्यवस्था अनुरूप २०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेश गर्दै महासमितिलगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट प्रक्रिया थाल्न ढिलो गर्न नहुने उल्लेख गरेका छन् ।

ूनेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल विधान, २०१७ (संशोधन सहित) को धारा ४३ बमोजिम आगामी २०८२ मंसिर मसान्तभित्र समाप्त हुने छ । अतः महाधिवेशनको अन्तिम वर्ष विधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यास पूर्णतः बन्द गरी विधान बमोजिम २०८२ मंसिरमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नेछौँ । यस महासमितिपश्चात् लगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट २०८२ मंसिरमा हुने महाधिवेशनको अगाडि विभिन्न तहले सम्पन्न गर्नुपर्ने कामको विस्तृत कार्यतालिका बनाई सोही अनुसार महाधिवेशनका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने गराउने छौँ, प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।

महामन्त्री थापाले नेपाली कांग्रेसको संगठन निकै ठूलो भएकाले आतिनुपर्ने अवस्था नरहेको समेत उल्लेख गरेका छन् ।वि.सं.२००५ फागुन १८ मा सम्पन्न भएको नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा भनिएको छ “हामीले बाटोघाटोको अतिशयन्यूनता भएको विस्तृत भू९खण्डमा काम गर्न सारै थोरै समय पाएका छौँ । सरकारले पनि आफ्नो निरङ्कुश र प्रगति विरोधी नीतिले हाम्रो मार्गमा तगारो अड्काएको छ । फेरि हाम्रा कर्मठ र कार्यकुशल साथीहरूमध्ये निकै जसो अझै पनि जेल यातना सहिरहेका छन । बाधाहरू अनेकन छन्, तर प्रथम वर्षको भन्दा सदस्य संख्या चौवर भएको छ”। यसरी चौबर भयो भनिएको सदस्य संख्या केही सय मात्र पुगेको थियो ।

आज २०८० सालसम्म आइपुग्दा अठहत्तर वर्षको यो यात्रामा पार्टीको विशाल सांगठनिक संरचना हामीसँगछ । देशभित्र टोल टोलसम्म, विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा मात्र होइन देश बाहिर समेत पार्टी संगठनको विस्तार भएको छ, सदस्यता फैलिएको छ । ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य र क्रियाशील बाहेकका लाखौं कांग्रेस सदस्य छन् । १३ वटा भ्रातृसंघ र २६ वटा शुभेच्छुक संस्थामा आबद्ध सदस्यहरूको संख्या निकै ठूलो रहेको महामन्त्री थापाले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवशन पश्चात्केन्द्रदेखि ६७४३ वडा र त्यस अन्तर्गत रहेका हजारौं टोल समिति छन् ।सम्पर्क समितिहरू छन् । देशभित्र मात्र होइन संसारका विभिन्न भागमा छरिएका ३७ वटा जनसम्पर्क समितिमार्फत हजारौँ सदस्य पार्टीमा आबद्ध रहेको थापाले बताए । नेपाली कांग्रेस सबैभन्दा धेरै सदस्य, ठूलो सांगठनिक संरचना भएको दल बनेको छ । संगठन मात्रै होइन यस अवधिमा तीन तहको निर्वाचन मार्फत नेपाली कांग्रेस तीनै तहमा जनमतका हिसाबले पनि पहिलो दल बनेको छ । पार्टी संगठनका गतिविधि नियमित रुपमा संचालित छन् । संगठन जीवन्त रहेको महामन्त्री थापाले उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *