रिबन

भारतको आगामी चुनाव र युट्युबको प्रभाव

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतमा २०२४ को चुनाव नजिकिदै गर्दा राजनीतिज्ञहरुलाई चुनावी अभियानमा नयाँ जनादेश छ: युट्युबमा उपस्थिति बढाउनुहोस्।

सेप्टेम्बर २०२३ मा युट्युबले भारतमा आफ्नो १५औ वार्षिक उत्सव मनायो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो सम्बोधनबाट कार्यक्रम सुरु भयो। भिडियो सम्बोधनमा मोदीले युट्युबले राष्ट्रलाई जगाउन र आन्दोलन सुरु गर्न सक्ने बताए। भिडियो सम्बोधनमा आफूलाई युट्युबे भन्दै प्रधानमन्त्री मोदीले आफ्नो च्यानललाई सब्स्क्राइब गरी सबै सामग्रीहरू समयमै प्राप्त गर्न र अपडेटका लागि बेल आइकन थिच्न अनुरोध समेत गरेका थिए।

यस वर्षको अन्त्यमा हुन गइरहेको भारतको आम चुनावमा तेस्रो कार्यकालका लागि तयारी गरिरहेका ७३ वर्षीय प्रधानमन्त्री मोदीको लागि युट्युबमा प्रभावशाली हुनु अत्यावश्यक छ। डाटारिपोर्टलका अनुसार युट्युबमा ४६ करोड प्रयोगकर्ता, फेसबुकमा ३१ करोड र एक्समा २ करोड प्रयोगकर्ताहरू छन्। युट्युबको ठुलो प्रयोगकर्ताको आधारका कारणले गुगलको स्वामित्व रहेको युट्युब देशमा राजनीतिक सन्देश प्रवाहको लागि बलियो उपकरणको रूपमा उभिएको छ।

युट्युबको सहयोगमा २०२१ मा आएको अक्सफोर्ड इकोनोमिक रिसर्च रिपोर्टका अनुसार भारतमा राष्ट्रिय समाचारको लागि ८७ प्रतिशत युट्युब प्रयोगकर्ताहरू युट्युबमा भर पर्छन् ।

प्राविधिक वकिल एवं डिजिटल अधिकारको वकालत समूह इन्टरनेट फ्रिडम फाउन्डेसनका सहसंस्थापक अपार गुप्ताका अनुसार- सहरी क्षेत्रहरूमा विशेष गरी २०२४ को आम चुनाव युट्युब चुनाव हुनेछ।

“मतदाताहरूले युट्युबको सामग्री हेर्दछन्। उनीहरू अखबार नपढ्न सक्छन् तर युट्युब हेरिरहेका छन्” देशको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका सोसल मिडिया र डिजिटल कम्युनिकेसनका राष्ट्रिय संयोजक रुचि चतुर्वेदीले बताइन्। उनी भन्छिन् “२०२४ को दौडमा युट्युब हाम्रो प्रचारको मुख्य केन्द्रित क्षेत्र हो। हामीले युट्युब प्ल्याटफर्ममा आफ्नो उपस्थिति विस्तार गरिरहेका छौं। हाम्रा अधिक सामग्री युट्युब केन्द्रित छन्।“

नेताहरूलाई विभिन्न मतदाता समूहहरूसँग जोड्न युट्युबले मद्दत गर्ने हुनाले राजनीतिज्ञहरूले युट्युबमा प्रयोगकर्ता बढाउनु प्राथमिकतामा परेको राजनीतिक अभियानका प्रबन्धकहरूको भनाइ छ। सबैले गुगल एडसेन्समा खर्च बढाएको र युट्युबका लागि सामग्री तयार गर्न कर्मचारीहरू समेत भर्ना गरिरहेको बताए। दुई दर्जन भारतीय राजनीतिज्ञको युट्युब च्यानलहरूको विश्लेषण गर्दा चुनावको छ महिनाको समयमा सब्स्क्राइबरहरू र भिडियोको भ्युजहरूमा नाटकीय वृद्धि भएको फेला पर्‍यो।

यसैगरी मे २०२३ मा भारतको मध्यप्रदेश राज्यका तत्कालीन मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रदेशको चुनावको लागि नेतृत्व गर्नुभन्दा ८ महिना अगाडि आफ्नो राजनीतिक छवि परिवर्तन गर्न निजी परामर्श कम्पनीहरूको सहारा लिएका थिए। यस कार्यको ठुलो भाग युट्युबमा सम्पन्न भएको थियो।

“हामी उनको वास्तविक व्यक्तित्वलाई ल्याउन युट्युबमा भर परेका थियौँ। हामीले युट्युबमा अभियान अनुरूप सामग्री तयार गर्‍यौँ र भाषा परिवर्तन पनि गर्‍यौ”, चौहानको प्रमुख सल्लाहकार रमन ममगाईले बताए। यसमा चुनावी सभाहरूलाई प्रत्यक्ष प्रसारण गर्न युट्युबको प्रयोग गरियो। र अन्य सामाजिक सञ्जालहरूमा व्यापक रूपमा लिङ्क प्रचार गर्ने काम भयो।

युट्युबमा पहिला शिवराज सिंह चौहानको च्यानल प्राय स्थिर थियो। सामाजिक सञ्जाल एनालिटिक्स कम्पनी सोसलब्लेडको अनुसार मे २०२३ को पहिलो हप्तामा उनको च्यानलमा प्रतिहप्ता चार सय नयाँ सदस्यहरू मात्रै जोडिने गरेका थिए। तर डिसेम्बरमा आइपुग्दा च्यानलमा लगभग २७ हजार सदस्यहरू प्रत्येक हप्ता थपिँदै गए। साथै च्यानलमा भिडियोहरू हेर्नेको सङ्ख्या ३० लाखबाट ४ करोड ८० लाख बढेको थियो। “सामग्री नै मुख्य कुरा हो। वितरण मिलाए मात्र त्यसले प्रतिफल दिन्छ”, ममगाईले भने। ममगाईका अनुसार युट्युबले समयसँगै ब्रान्ड मूल्य निर्माण गर्ने कुरा हो। भाइरल हुनको लागि जे पनि गर्न सकिन्छ तर त्यो स्थायी प्रवृत्ति हुने छैन।“

निर्वाचनमा पार्टीले २३० मध्ये १६३ सिट जितेर पनि शिवराज चौहान मुख्यमन्त्री बनेनन्।

भारतको दक्षिणी राज्य तेलंगानामा गएको नोभेम्बरमा चुनाव हुँदा काँग्रेस पार्टीका रेमन्थ रेड्डीले अभियान प्रचारका क्रममा उनका सहयोगीहरूले गोप्रो क्यामेरा र ट्राईपाड प्रयोग गरी युट्युबमा प्रत्यक्ष प्रसारणको व्यवस्था गरे। एक सहयोगीका अनुसार बढीभन्दा बढी पहुँच र जनतामाझ पुर्‍याउनका लागि युट्युबमा ध्यान केन्द्रित गर्न खोजिएको थियो। नाम नछाप्न अनुरोध गर्दै एक सहयोगीले बढी भन्दा बढी परिणामको लागि र अधिकतम जनतामाझ पुग्नको लागि युट्युबमा ध्यान केन्द्रित गर्न खोजिएको र सोही अनुरूप अभियानका भाषणहरूलाई युट्युबबाट प्रत्यक्ष प्रसारण गरिएको बताए।

रेड्डीको युट्युब च्यानललाई थप निर्वाचन क्षेत्रहरूमा सन्देश फैलाउन प्राथमिक स्रोत पनि बनाइएको थियो। चुनावको अभियान चर्किँदै जाँदा रेड्डीलाई युट्युब च्यानलद्वारा वर्तमान सरकारको नीतिगत असफलताहरूको लागि वैकल्पिक नेताको रूपमा राखिएको थियो। यसका साथै उनको च्यानललाई अन्य मिडियाका लागि भिडियो सामग्री वितरणको प्राथमिक स्रोतको रूपमा पनि राखिएको थियो।

सोशल ब्लेडका अनुसार रेड्डीको च्यानलमा जोडिने प्रयोगकर्ताको सङ्ख्या प्रति हप्ता दुई सयबाट बढेर ३०००० पुग्यो। डिसेम्बरमा रेड्डी तेलंगानाको नयाँ मुख्यमन्त्री बने।

गुगलको विज्ञापन पारदर्शिता केन्द्रको तथ्याङ्क अनुसार तेलंगानाका राजनीतिक दलहरूले जुन २०२३ र जनवरी २०२४ का बिचमा युट्युबमा २२ हजार ७५० विज्ञापनहरू चलाए । रकममा हेर्दा यसको मूल्य लगभग भारतीय २५ करोड रुपैयाँ थियो। रेड्डीको पार्टीले मात्रै युट्युब विज्ञापनमा लगभग नौ करोड रुपैयाँ खर्च गरेका छन् भने विपक्षी भारत राष्ट्र समितिले लगभग १२ करोड रुपैयाँ खर्च गरेका थिए।

रेड्डीको अभियानमा सहयोग गर्ने स्ट्रेटमार्क कन्सल्टिङका राजनीतिक सल्लाहकार विनय कुमारका अनुसार युट्युबमा तयार गरिने सन्देश र कथा निर्माण हुने तरिकाले त्यसको प्रभावलाई फरक पार्दछ। स्ट्रेटमार्कले तेलंगाना चुनावमा धेरै अन्य चुनावी विजय अभियानहरू पनि चलाएको थियो। “जब चुनावको कुरो आउँछ युट्युबले दुई कुराको काम गर्छ। त्यो हो प्रचार र प्रपोगाण्डा”, कुमारले भने।

टेलिभिजन समाचारहरूमा राजनीतिक र व्यापारिक पूर्वाग्रहहरू बढिरहँदा भरपर्दो भिजुअल माध्यमको रूपमा युट्युबको महत्त्व हालका वर्षहरूमा बढ्दै गएको छ। भारतका पुराना टेलिभिजन पत्रकारहरू अहिले युट्युबतर्फ सरेका छन्।

तीन बन्दर मार्केटिंग एजेन्सीका सह-सस्थापक प्रशान्त चारी आफ्ना शब्दहरू मिडियाले गलत रूपमा प्रस्तुत गर्ने डर नहुँदा आफूले बोलेका कुरा जस्ताको तस्तै मतदाताहरूसम्म पुग्ने हुनाले युट्युबमार्फत राजनीतिज्ञहरूले सूचना प्रसार र सञ्चार गर्ने चलन बढ्दै गएको बताउँछन्। “राजनीतिक गर्नेहरूका लागि युट्युब यस्तो माध्यम हो जहाँ मानिसहरूले तपाईँको बारेमा कुरा गर्छन् र र तपाईँका कुराहरू पनि सुन्छन्”, उनी भन्छन्।

भारतका मुख्य विपक्षी पार्टी भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले २०२३ मा तीन हजार किलोमिटर लामो आफ्नो “भारत जोडयात्रा” पैदल यात्रा सुरु गरे। उनको पार्टी भारतीय राष्ट्रिय काँग्रेसले यसलाई अनलाइनमा प्रचार गर्‍यो। १४५ दिनको यस पैदल यात्रामा गान्धीले परम्परागत मिडियाबाट टाढा रही युट्युब पत्रकारहरू र युट्युब प्रभावकारहरूसँग संलग्न हुँदै स्वतन्त्र अन्तर्वार्ता दिँदै गएका थिए।

भारतीय राष्ट्रिय काँग्रेस पार्टीका राष्ट्रिय अभियान प्रमुख साथै गान्धीका सञ्चार प्रमुख श्रीवद्सा वाइबीले भारतमा मूलधारको राष्ट्रिय मिडिया पूर्ण रूपमा स्वतन्त्र नरही सरकारप्रति पूर्ण झुकाव भइसकेको बताए। “राहुल गान्धीले आफ्नो युट्युब प्ल्याटफर्म मार्फत प्रत्यक्ष रूपमा मानिसहरूसँग कुरा गर्न धेरै सामग्रीहरू राखेका छन्। विशेष गरी युट्युबमा प्रयोगकर्ताको आकार ठुलो भएको कारण कुनै पनि चुनावमा सामाजिक सञ्जाल मार्फत प्रचार गर्दा कथा, विचार र धारणा निर्माण गर्न युट्युब अत्यन्त महत्त्वपूर्ण हुने गर्छ“, श्रीवात्सा वाइबीले भने।

डिसेम्बरमा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा भएको छलफलको क्रममा राहुल गान्धीले आफ्नो सामाजिक सञ्जालका खाताहरूमा राखिएको कथित प्रतिबन्धको सन्दर्भमा भारतको युट्युबमा सरकारको नियन्त्रण रहेको बताए। यस्तै भारतको विपक्षी गठबन्धनले अक्टोबरमा युट्युबले अल्गोरिदम बदल्दै विपक्षी नेताहरूको सञ्चार सामग्री दमन गरेको आरोप लगाउँदै गुगललाई पत्रसमेत लेखेका थिए।

यी आरोपहरूको टिप्पणीको लागि युट्युबमा प्रतिक्रियाको लागि निवेदन गर्दा कुनै प्रतिक्रिया पाउन सकिएन।

सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटीजका प्राध्यापक सञ्जय कुमार भन्छन् ”युट्युबले राजनीतिक निर्णयमा विद्यमान राजनीतिक र सामाजिक विचारहरूलाई कसरी प्रभाव पार्छ भन्ने कुरा समावेश गर्दछ। “उदाहरणका लागि आफ्नो समुदायको राम्रो स्थान भएको विचार मन पराउने एक हिन्दु मतदातालाई युट्युब भिडियोले आफ्नो दृष्टिकोण पुष्टि गर्न प्रभावित गर्न सक्छ”, कुमारले भने।

“युट्युबले राष्ट्रवादप्रति जनताको विचारलाई आकार नदिईकन त्यसलाई सुदृढ मात्र गरिरहेको उनले बताए। यो एक आफ्नै आवाज सुनाइदिने एक इको चेम्बर हो। र यसबाट बाहिर ननिक्लिकन अर्को दृश्यको अर्थ थाहा पाउन सकिन्न”, कुमार भन्छन्।

भारतका यशराज शर्माद्वारा रेस्ट अफ वर्ल्डमा प्रकाशित लेखबाट साभार।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट